बौंदीकाली अध्यक्ष ओझाले गरे पदभार, ‘प्राविधिक शिक्षा र स्वास्थ्य सेवा पहिलो प्राथमिकता’



बौंदीकाली – बौंदीकाली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश ओझाले पदबहाली गरेका छन् । गाउँपालिकाकाको कार्यालय डेढगाउँमा आयोजित एक कार्यक्रमबीच ओझाले आज पदबहाली गरेका हुन् ।

अध्यक्ष ओझाले पदबहाली गरेसँगै नवनिर्वाचित उपाध्यक्षलगायतका वडाअध्यक्ष र सदस्यहरुलाई शपथ पनि गराएका थिए ।

पदबहालीपछि नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक गाउँपालिका कार्यालयमा बसेको थियो ।

बैठकले प्राविधिक शिक्षा, सुरक्षित प्रसुति सेवा,एम्बुलेन्स खरिददेखी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरेका छन् । त्यस्तै पालिकाभित्र स्वास्थ्य र प्राविधिक शिक्षाका लागि प्रमुख मुद्दा बनाइने पनि जनाइएको छ ।

त्यस्तै अध्यक्ष ओझाले पहिलो निर्णयबाट प्रत्येक वडामा ७ जनाका दरले प्राविधिक शिक्षा अध्ययनका लागि प्रतिव्यक्ति ५ हजार मासिक छात्रवृति उपलब्ध गराउने निर्णय भएको बताएका छन् ।

यसैगरी सुरक्षित प्रसूति सेवालाई जोड दिँदै बौदीकालीबासी महिलालाई सुरक्षित प्रसुती सेवा गाउँपालिका भित्रको बर्थीङ सेन्टरमा उपलब्ध हुन नसकी रिफर गर्नुपरेमा प्रतिमहिला १० हजारको दरले सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यस्तै गाउँपालिकामा एउटा एम्बुलेन्स खरिद गर्ने र पालिकाभित्रका सबै सरकारी, सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने निर्णय गरिएको अध्यक्ष ओझाले बताए ।