

गण्डकी मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक बसालेका थिए । सो बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।
गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो ।
तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् ।
सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।