एकाबिहानै भूकम्पको धक्का महसुस, पूर्वी नेपालको उत्तरी सीमामा ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं – पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। उक्त क्षेत्र नेपाल–चीन (तिब्बत) सीमा नजिक पर्दछ।
भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। यद्यपि, भूकम्पबाट भएको सम्भावित क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो।
भूकम्पबाट भएको क्षति तथा थप विवरणबारे सम्बन्धित निकायले जानकारी संकलन गरिरहेका छन्।
