२८ तोला सुनसहित झापाकी कल्पना पोखराबाट पक्राउ

पोखरा । प्रहरीले पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ रहेकी छन्।

गुरूङलाई पोखरा बसपार्कबाट आज सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो।

गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्। २८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ। ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताइएको प्रारम्भिक सोधपुछका क्रममा बयान दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *