

वाह ! वडाध्यक्ष हुनु त यस्तो !
भरत श्रेष्ठः जो सर्पले टोकेर घाइते महिलालाई लिएर आफैं मध्यरातमा अस्पताल पुगे

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले अर्को उदाहरणीय कार्य गरेका छन् ।
वृद्ध, महिला, अपांगता भएका व्यक्ति तथा गरिबका लागि निजी सवारीसाधनबाट सेवा दिँदै आइरहेका वडाध्यक्ष श्रेष्ठले मंगलबार सर्पले टोकेर बिरामी परेकी एक महिलाको उद्धार गर्दै अस्पताल पुर्याएर ज्यान बचाएका छन् ।
वडाध्यक्ष श्रेष्ठले मंगलबार ऋषिङ गाउँ पालिका वडा नंं.७ राइथोककी ५३ की प्रितम परियारलाई सर्पले टोकेको कारण निजी सवारी साधनबाट निःशुल्क सेवा दिँदै तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रसम्म लगेर ज्यान बचाएका छन् । कुनै आफन्त नभएका कारण केही स्थानीय उमाकान्त पाैडेल र गणेश कुमार श्रेष्ठको सहयोगमा वडाध्यक्ष श्रेष्ठले राती साढे १२ बजे आफ्नै निजी सवारी आफैं चलाएर अस्पतालसम्म पुर्याएर निज परियारको उपचार गराएका हुन् ।
विषालु प्रकारको सर्पले टोकेपनि समयमै उपचार पाएपछि करिब ११ घन्टाको उपचारपछि निजको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालले उपचार गरेपछि निज परियारलाई बुधबार बिहान डिस्चार्ज गरेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । डिस्चार्जपछि वडाध्यक्ष श्रेष्ठले परियारलाई घरसम्मै लिएर सँगै आएका थिए ।
वडाध्यक्ष श्रेष्ठले यसअघि पनि विभिन्न आपत्विपत्मा परेका सर्वसाधारणलाई निःशुल्क रुपमा निजी सवारीमार्फत् सेवा दिँदै आएका छन् । उनले ऋषिङ वडा नं. ८ का वृद्ध तथा ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि आप्mनै गाडी प्रयोग गरेर बैंकसम्म ल्याउने र लैजाने सेवा नियमित रुपमा दिइरहेका छन् । त्यसका साथै अन्य वडाका ज्येष्ठ नागरिकहरुलाई पनि सम्भव भएसम्म सेवा पुर्याउँदै आएका छन् ।
गरिब, जनताको लागि जनमैत्री काम गर्दै आएका श्रेष्ठ गत वर्ष सम्पन्न स्थानीय निर्वाचनबाट स्वतन्त्र उम्मेदवारी दिँदै वडा नं. ८ का वडाध्यक्षमा निर्वाचित भएका थिए ।