

आखिर ठग नै ठहरिए डिएसपी ठगबहादुर…

काठमाडौं । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका केसीलाई बिशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १३ भदौमा मुद्दा दायर गरेको थियो । उनी २५ मंसिर २०७९ मा घुससहित पक्राउ परेका थिए। एक व्यवसायीको सुन बरामद गरी फिर्ता दिन उनले आठ लाख ५० हजार नगद र नौ लाख ५० हजारको चेक लिएका थिए ।
इप्रका बुटवलबाट सरुवा भइसकेपछि उनले त्यसरी घुस लिएका हुन् । प्रहरी प्रधान कार्यालयकै टोलीले उनलाई पक्राउ गरी अख्तियारमा फाइल बुझाएको थियो ।
सो मुद्दामा सुरुमा सरकारी साक्षी बनेका खीलेन्द्रसिंह जिसीले पनि अदालतमा बयान फेरेपछि अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो । उनी पनि दोषी ठहर भएका छन् ।
नेपाल प्रहरीले यसअघि नै उनलाई बर्खास्त गरिसकेको छ । उनलाई दुई वर्ष कैद र ८ लाख ५० हजार जरिवाना भएको छ।