पार्टीप्रति निष्ठा र समर्पण भएमा कांग्रेसमा सुधार हुन्छः उपसभापति खड्का
गैंडाकोट । पूर्वी नवलपपुरको गैंडाकोटमा नेपाली कांग्रेस नवलपुरको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
गैंडाकोटको विजयविकास स्रोत केन्द्रको हलमा सुरु भएको प्रशिक्षण कार्यक्रमको नेपाल सरकारका कार्यबहाक प्रधानमन्त्री एवं पार्टी उपसभापति पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् ।
तीनदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले नेपाली कांग्रेसले संविधानको निर्माणदेखि कार्यान्वयनसम्म खेलेको भूमिकाको बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि हरेक कार्यकर्ताले पार्टीको हितको लागि काम गर्नुपर्ने बताए ।
उक्त अवसरमा खड्काले कार्यकर्ताहरुलाई प्रदान गरिने यस किसिमको प्रशिक्षण, यस्तै अभियानको माध्यमबाट पार्टीलाई सुदृढीकरण गर्न वा पार्टीलाई नवीन ढंगले अगाडि बढाउन अहिलेको जमानामा प्रतिस्पर्धामा आउनका लागि सबैको समर्पण एवं निष्ठा आवश्यक पर्ने कुरा जनाए । उनले हरेक तहका कार्यकर्तामा निष्ठा भएमा पार्टी सुधार हुने र नेपाली जनताले गरेको भरोसा पूर्ण हुने जनाउँदै पार्टीको सुदृढीकरणका लागि टोल सभापतिको पनि केन्द्रीय सभापतिको जत्तिकै भूमिका हुने बताए ।
उक्त अवसरमा नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रशिक्षण विभागका उपप्रमुख कुश्माखर न्यौपाने, नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनालले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश कृषि मन्त्री महेन्द्रध्वाज जिसीले पनि कार्यक्रमको सफलताको कामना गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गोविन्द भट्टराईले पनि समसामयिक तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने कामको र कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए ।
नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे संयोजक रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न हुने जनाइएको छ ।
कार्यक्रममा नवलपुरका आठै स्थानीय तहबाट प्रतिनिधित्व रहेको छ । प्रशिक्षण कार्यक्रममा सहभागि हुनका लागि हरेक गाउँपालिकाबाट एक महिलासहित चार जना र नगरपालिकाबाट एक महिलासहित ५ जना हुनुपर्ने जनाइएको छ ।
कार्यक्रममा सहभागि हुनका लागि कम्तीमा पनि ५ वर्ष क्रियाशील सदस्य रहेको, कक्षा १२ पास गरेको कार्यकर्ता हुनुपर्ने मापदण्ड जिल्लाले तय गरेको छ । प्रशिक्षण अवधिभर सहभागीलाई आवाससहित खाजा र खानाको पनि व्यवस्था गरिएको जनाइएको छ ।