इलाका प्रशासन कार्यालयको माग गर्दै नवलपुरका जनप्रतिनिधिले भेटे गृहमन्त्री
काठमाडौं । नवलपरासी (ब.सु.पू)का जनप्रतिनिधिहरुले नवलपुरको पहाडी भेगमा इलाका प्रशासन कार्यालयको माग गरेका छन् ।
गृहमन्त्री रमेश लेखकसँग भेट गरी नवलपुरका स्थानीय तहदेखि संघीय संसद्सम्मका जनप्रतिनिधिले भाैगोलिक रूपमा विकट रहेका बुलिङटार र बौंदीकाली गाउँपालिकालाई पायक पर्ने स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाकाे माग गरेको हो । ती गाउँपालिकाहरू अहिलेको जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा छन् ।
अहिले यी दुई गाउँपालिकाबाट प्रशासनिक कार्यका लागि कावासोती जानुपर्ने भएका कारण आर्थिक भारका साथै समय पनि लाग्ने भएका कारण ती दुई गाउँपालिकाको केन्द्र पर्ने गरि इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने गृहमन्त्रीसँगको भेटका लागि प्रतिनिधिमण्डलमा रहेका स्थानीय भेषराज श्रेष्ठले जनाए । वर्षाका याममा यातायात सञ्चालन हुन नसक्ने भएकाले पनि ती भेगका स्थानीयहरू थप मारमा पर्ने गर्दछन् ।
गृहमन्त्रीसँगको भेटमा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद डा. शशांक कोइराला, क्षेत्र नं. २ सांसद विष्णुकुमार कार्की, नेपाली कांग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी, बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका साथै जिल्लाका विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो ।
उनीहरुले विनयी गाउँपालिकाको वडा नं. ६ र ७ भौगोलिक हिसाबले विकट रहेको र गाउँपालिकाको कार्यालयसम्म जानका लागि लुम्बिनी प्रदेशको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेका कारण विजयी त्रिवेणीमा पनि इलाका प्रशासन कार्यालय वा विशेष सेवा केन्द्र स्थापनाका लागि गृहमन्त्रीसँग माग गरेका छन् ।
सरकारले यसअघि देशका विभिन्न २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय लिएको थियो । तर, त्यस घोषणामा यी दुई गाउँपालिकालाई समेट्ने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्नेमा त्यो नभएपछि गाउँपालिकादेखि संसदका सम्मका जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका हुन् ।
सरकारले अघिल्लो साता देशभर स्थापना गर्न लागेको २३ इलाका प्रशासन कार्यालयमध्ये गण्डकी प्रदेशमा एक स्थानमा मात्र इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । सरकारको उक्त निर्णयमा तनहुँको भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।

