

नवलपुरका यी-यी योजना समेटिए प्रदेश बजेटमा
धौवादी फलाम खानीलाई १५ करोड, मध्यविन्दुमा डाइलासिस सेवा

नवलपुर । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् ।
मन्त्री बरालले बजेटमा नवलपुरका विभिन्न योजनाहरु समेटेका छन् । मन्त्री बरालका अनुसार पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी शिर्षकमा नवलपुरको मौलाकाली–देवचुली–नरम–कुवाकोट–नारीभञ्ज्याङ–दाउन्ने महाभारत पदमार्गका लागि सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।
त्यस्तै बुलिङटार गाउँपालिकामा लिफ्टिङ वा अन्यमाध्यमबाट सिञ्चाई आयोजनालागि पनि बजेट छुट्याइएको छ । त्यस्तै त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि साढे २ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै मध्यविन्दु अस्पतालमा डाइलासिस सेवा सञ्चालन गरिनेछ । त्यस्तै भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी सडक खण्डको निर्माणलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।
नवलपुरको लोकाहा खोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । त्यस्तै धौवादी फलाम खानीको सञ्चालनको लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ ।
विशेष गरी ८ शिर्षकमा विनियोजन गरिएको बजेटमा उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय उर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य सेवाको सुदृढीकरण, पर्यावरणीय संरक्षण, पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवद्र्धन शीर्षकमा छ ।
चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ ।