गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड, भरतपुर महानगरले कति ?



चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।

आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।

बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा  ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ ।

यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । अब केही दिनमै बजेट सार्वजनिक गर्ने तयारीमा रहेको महानगरले यसअघि भन्दा यसपटक बजेट बढाउने अपेक्षा गरिएको छ ।

३ अर्ब लागत रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो ।