कुनै पनि कर्मचारीले जागिर तथा सेवा सुविधा गुमाउनुपर्दैनः भाटभटेनी
काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनीपछि भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्।
सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। मुलुकमै युवापुस्तालाई बढी भन्दा बढी रोजगारी दिने उद्देश्य बोकेको भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्।
भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्। हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ।
२०४१ सालमा काठमाडौं नक्सालमा एउटा सटरबाट सुरु भएको भाटभटेनी डिपार्टमेन्टल स्टोर नेपालमा लगानी रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको थियो।
निर्देशक पौडेलका अनुसार देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त भएका छन्। प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
साढे दुई दर्जन भन्दा बढी स्टोरमध्ये प्रमुख र ठूला १२ वटा पूर्णरुपमा जलाएर ध्वस्त पारिएका छन्। चावहिल चुच्चेपाटी, नक्साल, महाराजगञ्ज बौद्ध कोटेश्वर बालुवाटार वेयरहाउसमा तोडफोड लुटपाट र आगजनी गरिएको छ। त्यसैगरी पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपरस्टोर पनि ध्वस्त पारिएका छन्।
लुटपाट र तोडफोडचाहिँ दर्जन हाराहारीका स्टोरमा भएका छन्। उपत्याकाभित्र-कलंकी, बालाजु, थिमी, र उपत्याका बाहिर जनकपुर, बुटवल बीरगञ्ज धनगढी इटहरी र भैरहवा स्टोर छन्।
गत चैत १५ गते तीन कुनेमा राजाबादीको प्रदर्शनको बेला कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो जसमा ८० लाख ३३ हजारभन्दा बढीको क्षति भएको थियो ।
