‘कोसेली भनेकै थोर्गेली गुँड’ नारासहित रुरु क्षेत्रको अर्गानिक शुद्ध गुँड बजारमा
काठमाडौं । ‘कोसेली भनेकै थोर्गेली गुँड’ मूल मन्त्रसहित रुरु उत्थान कृषक समूहले शतप्रतिशत अर्गानिक शुद्ध गुँडलाई प्रवद्र्धन गर्दै आएको छ ।
उक्त कृषक समूहले थोर्गामा उत्पादन गरिएको गुँडको प्रर्वद्धन गर्ने उद्देश्यसहित राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एक स्टल सञ्चालन गरेको थियो । गुल्मीबाटै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउने नेता प्रदीप ज्ञवाली र रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र पूर्व मुख्यसचिव लिलामणि पौडेलले उक्त स्टलमा आयोजित एक विशेष कार्यक्रममार्फत गुँड र खुदोबाट उत्पादन गरिएको चकलेट सार्वजनिक गरेका थिए ।
रुरु उत्थान कृषक समूहका अध्यक्ष चिरञ्जिवी गौतमले समूहले उत्पादन गरेको गुँड पूर्णरुपमा अर्गानिक भएको जनाउँदै यसका फाइदाहरुका बारेमा जानकारी गराएका थिए । गौतमले यस गुँड शुद्ध अर्गानिक भएको जनाउँदै यस गुँडको प्रयाले पाचन प्रणालीमा सुधार गर्ने, रगत शुद्ध पार्ने, शरीरबाट विषाक्त पदार्थ हटाउनेका साथै रोगप्रतिरोधात्मक क्षमता बढाउने पनि जनाए । साथै गौतमले यस गुँडको प्रयोगले रक्तअल्पता रोक्ने, चिसो खोकी र एजर्लीमा राहत दिने, हड्डी बलियो बनाउनेलगायतका स्वाथ्यबद्र्धक रहने पनि जनाए ।
निकट भविष्यमै आफूहरुले यस गुँडलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको बताउँदै गौतमले त्यसका लागि प्रक्रिया सुरु भइसकेको पनि जनाए । उनले भने, ‘यस गुँडलाई कोसेलीकै रुपमा प्रयोग गर्ने गरि बजार प्रवद्र्धन गर्ने मुख्य योजना हो, अब विदेश जानेहरुले हाम्रो गुँडलाई कोसेलीकै रुपमा प्रयोग गर्ने बनाउँछौं ।’ उनले निकट भविष्यमै थाइल्याण्ड र फ्रान्समा गुँड निर्यात गर्नका लागि प्रक्रिया सुरु गरिसकेको जनाए । गौतमले आफूहरुले रुरु क्षेत्रमा ५ सय रोपनी भन्दा धेरै जग्गामा उखु खेती गर्न सुरु गरेको जनाउँदै अब बजारसँगै उत्पादन पनि बढाउने योजना रहेको जनाए । उनले केहीसमयभित्रै गुन्द्रुक र मस्यौरा पनि बजारमा ल्याउने तयारी गरेको जनाए ।
उक्त कार्यक्रममा नेता प्रदीप ज्ञवालीले यस गुँड रुरु क्षेत्रकै पहिचानका रुपमा स्थापित बन्ने जनाउँदै त्यसका लागि रुरु क्षेत्रबासीका साथै सम्पूर्ण गुल्मेलीहरुले प्रयास गर्नुपर्ने जनाए । त्यसका लागि आफ्नो पनि सहयोग रहने प्रतिबद्धता जनाउँदै उक्त कृषक समूहले गरेको कार्यको प्रशंसा गरे ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाले पनि स्थानीय तहमा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने जनाउँदै गाउँमा उत्पादन गरिएका वस्तुहरुलाई कसरी बढी भन्दा बढी अर्गानिक बनाउनेतर्फ ध्यान दिनुपर्ने जनाए । उनले भने, ‘सबैभन्दा ठूलो कुरा भनेको अर्गानिक बनाउने हो, त्यसमा ध्यान दिएपछि सबै कुरा हुन्छ,’ उनले थपे, ‘यस किसिमका उत्पादनहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रुरु क्षेत्रको पहिचानका लागि पनि काम गर्ने र आर्थिक सम्वृद्धिमा टेवा पुर्याउने जनाए ।’ उनले गाउँपालिकाले पनि सहकारीको मोडेलबाट यस किसिमको उत्पादनलाई जोड दिएको जनाए ।
कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले यो गुँड रुरु क्षेत्रको मौलिक पहिचानको रुपमा स्थापित हुने विश्वास लिएको जनाए । साथै उनले यस कार्यले रुरु क्षेत्रमा आर्थिक रुपान्तरण हुने पनि जनाए ।
थोर्गामा उत्पादन गरिएको उक्त गुँड हाल राजधानीको कलंकीस्थित एनविटि भवनमा उपलब्ध हुने पनि कृषक समूहका अध्यक्ष गौतमले जनाए । हाल प्रतिकिलो चार सय रुपैयाँमा गुँड र चक्लेट प्रति प्याकेट २५० रुपैयाँमा उपलब्ध गराइएको पनि गौतमले जनाएका थिए ।

