नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजकुमार निर्विरोध निर्वाचित

नेपालगन्ज – नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा राजकुमार पोखरेल (हमाल) निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू, अग्रज नेतृत्व तथा कार्यकर्ताहरूको सर्वसम्मत सहमति र अभूतपूर्व समर्थनसहित हमाल क्षेत्रीय सभापतिमा चयन भएका छन्।

आफ्नो चयनपश्चात् आधिकारिक भनाइ जारी गर्दै नवनिर्वाचित क्षेत्रीय सभापति राजकुमार हमालले आफूमाथि पूर्ण विश्वास र भरोसा व्यक्त गरी निर्विरोध निर्वाचित गराउने सम्पूर्ण आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन्।

विज्ञप्तिमा सभापति हमालले बाँके जिल्ला संयोजक कृष्णबहादुर कार्की, नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति श्रद्धेय दाजु गजेन्द्रबहादुर हमाल लगायत सम्पूर्ण पार्टी अग्रजहरू, शुभेच्छुक तथा कार्यकर्ता साथीहरूको कुशल मार्गदर्शन, सहयोग र स्नेहप्रति विशेष धन्यवाद ज्ञापन गरेका थिए।

पार्टी संगठन सुदृढीकरण र जनसेवामा समर्पित रहने प्रतिबद्धता:

निर्वाचित भएपश्चात् आफ्नो दृढ संकल्प व्यक्त गर्दै नवनिर्वाचित सभापति राजकुमार पोखरेल (हमाल) ले भने, “क्षेत्रीय प्रतिनिधिज्यूहरू, अग्रज नेतृत्व र सहकर्मी साथीहरूले मप्रति देखाउनुभएको यो अगाध विश्वास, माया र सद्भावलाई मैले अत्यन्तै जिम्मेवारीपूर्वक आत्मसात् गरेको छु। यो जित मेरो मात्र नभई सम्पूर्ण बाँके क्षेत्र नं. २ का कांग्रेस कार्यकर्ताहरूको एकताको सन्देश हो। आगामी दिनमा पार्टीको सांगठनिक ढाँचालाई थप सुदृढ, एकताबद्ध र चलायमान बनाउँदै जनताको सुख-दुःखमा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। यहाँहरूले ममाथि गर्नुभएको भरोसा र विश्वासलाई म कहिल्यै आँच आउन दिने छैन।”

नेपालगन्ज उपमहानगरपालिका तथा डुडुवा गाउँपालिका समेत समेटिएको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने बाँके क्षेत्र नं. २ मा हमालको निर्विरोध चयनले स्थानीय तहदेखि नै पार्टीभित्र नयाँ उत्साह, ऊर्जा र सांगठनिक सुदृढीकरणको नयाँ अध्याय थपिएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *