भिजेको राजनीति, बलियो आधार: स्याङ्जा क्षेत्र नं. २ मा मल्लप्रति जनविश्वास
स्याङ्जा । स्याङ्जा जिल्लामा प्रतिनिधि सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये क्षेत्र नं. २ मा अहिले राजनीति नाराले होइन, सम्बन्धले चल्ने यथार्थ स्पष्ट देखिन्छ। मञ्चका भाषणभन्दा घरआँगनका पाइला र पसिनाले नेता चिनिने यो क्षेत्रमा नेपाली कांग्रेसभित्र यही यथार्थको प्रतिनिधि नाम हो — भगवत प्रकाश मल्ल।
नेपाली कांग्रेस तरुण दल स्याङ्जाका अध्यक्ष मल्ल १४औँ महाधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा झिनो मतले पराजित भए अंकगणितीय हिसाबले त्यो हार हुन सक्छ, तर जनताको मनमा बसेको विश्वासका हिसाबले उनी आज पनि जितको केन्द्रमै छन्।
भगवत प्रकाश मल्ल कुनै आकस्मिक उत्पादन होइनन्। उनका बुबा २०४६ सालको राजनीतिक परिवर्तनपछिको संवेदनशील कालखण्डमा नेपाली कांग्रेस स्याङ्जाका जिल्ला कोषाध्यक्ष थिए। त्यो राजनीतिक लिगेसीलाई मल्लले नाममा मात्र होइन, व्यवहारमा निरन्तरता दिएका छन्।
तर उनले बुबाको छायाँमा बसेर राजनीति गरेनन्।आफ्नै पसिना, आफ्नै संघर्ष र आफ्नै सम्बन्धको बलमा उनले आफ्नो पहिचान निर्माण गरे।
मर्दा–पर्दा, दुःख–सुखमा घर–घर पुगेको नेता भगवत प्रकाश मल्लको राजनीति फोटोसेसन र कार्यक्रममै सीमित छैन।झरी, बर्खा, चिसो, तातो केही नहेरी उनी नागरिकका घर–घर पुगेका छन्।मर्दा–पर्दा होस् वा बिरामी पर्दा, समस्या पर्दा — उनी फोन उठाउने मात्र होइन, स्वयम् उपस्थित हुने नेताका रूपमा चिनिन्छन्। त्यसैले स्याङ्जामा उनको चर्चा सामाजिक सञ्जालको हल्लामा होइन,चिया पसल, खेतबारी, गल्ली र गाउँका चौतारीमा हुन्छ।
टिकट कसले दिन्छ भन्ने होइन, जनताले कसलाई चिन्छन् भन्ने सवाल रहेको छ।हाल सामाजिक सञ्जालमा अनेक हल्ला, गुट–उपगुटका विश्लेषण चलिरहेका छन्।तर ग्रास–लेभलको यथार्थ फरक छ।स्याङ्जाका कांग्रेस वृत्तमा खुलेर भनिने कुरा हो— “देउवा पक्ष होस् वा विशेष महाधिवेशन पक्ष,जसले भगवत प्रकाश मल्ललाई प्रतिनिधि सभा सदस्यको टिकट दिन्छ, जित निश्चित छ।”
भरखरै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि एक शुभचिन्तकले खुलेर व्यक्त गरेको भनाइ अहिले चर्चामा छ— “हाम्रो जिल्ला क्षेत्र नं २बाट प्रकाश मल्लले टिकट पाए भने त चुनाव सजिलै जितिन्छ।” यो भनाइले एउटा स्पष्ट सन्देश दिन्छ—मल्ल गुटको होइन, जितको उम्मेदवार हुन्।
आजको राजनीति फेसबुक स्टाटस र टिकटक भिडियोले भरिएको छ।तर चुनाव जित्ने गणित त्यहाँबाट तय हुँदैन।
ग्रास–लेभलमा भिजेको नेता, कार्यकर्तासँग दुःख–सुख बाँड्ने नेता,नागरिकले समस्या पर्दा सम्झने नेता —त्यही नेता चुनाव जित्ने वास्तविक पात्र हुन्छ। भगवत प्रकाश मल्ल यही वर्गमा पर्छन्।
भगवत प्रकाश मल्ल भन्छन्— “राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो। म सधैं पार्टीका कार्यकर्ता र स्याङ्जाबासी नागरिकको बीचमै छु । टिकट पाउने–नपाउने कुरा नेतृत्वको हो, तर जनतासँगको सम्बन्ध मेरो जीवनको राजनीति हो।”
