८८ वर्षीय उम्मेदवार आचार्यको ‘अन्तिम’ इच्छा- ‘मृत्युअघि एजेन्डा सुनाउन पाऊँ’
काठमाडौं — काठमाडौं क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार मदनदेव आचार्यले निर्वाचन आयोगले तोकेको चुनावी प्रचार–प्रसारको समयसीमाप्रति असन्तुष्टि जनाएका छन्।
८८ वर्षीय आचार्यले आफ्नो उमेर र स्वास्थ्य अवस्थालाई कारण देखाउँदै तोकिएको समयभन्दा अघि नै प्रचार गर्न पाउनुपर्ने माग गरेका हुन्।
माघ १५ गते निर्वाचन आयोगलाई पत्र लेख्दै आचार्यले आफू दुई पटक आइसीयूमा भर्ना भई उपचारपछि हाल आराम गरिरहेको उल्लेख गरेका छन्। पत्रमा उनले आफ्नो स्वास्थ्य नाजुक रहेको र जुनसुकै बेला मृत्यु हुन सक्ने अवस्था रहेको दाबी गरेका छन्।
‘म ८८ वर्षको मदनदेव आचार्य, दुई पटक आइसीयूमा भर्ना भई उपचारपश्चात् आराममा छु। मेरो उमेर र स्वास्थ्यका कारण जुनसुकै बेला मृत्यु समेत हुनसक्ने अवस्था छ,’ उनले पत्रमा लेखेका छन्।
आचार्यले व्यक्तिगत खर्चमा, कुनै पद वा लाभको आशा नगरी चुनाव जितेर आफ्ना अनुभवका आधारमा सरकारलाई सहयोग गर्ने चाहना रहेको बताएका छन्। तर आयोगले तोकेको फागुन ४ देखि १८ गतेसम्मको प्रचार अवधि आफ्ना लागि प्रतिकूल भएको उनको भनाइ छ।
‘कथंकदाचित मृत्यु भइहालेको खण्डमा आफ्ना एजेन्डा जनतासमक्ष राख्न र देशलाई सहयोग गर्ने अवसरबाट वञ्चित हुन सक्छु,’ उनले लेखेका छन्, ‘त्यसकारण चुनावी प्रचारको समयसीमा नराखी आजैबाट प्रचार गर्न अनुमति दिनुहुन अनुरोध गर्दछु।’
