सैनिक कल्याणकारी भवनमा भाडा विवाद, अदालतको आदेशविपरित व्यवस्थापनले खोल्यो पुनः टेण्डर
लेखापाल थापा र पूर्वजर्नेल विष्टको ब्रम्हलुटविरूद्ध व्यवसायी पुनः अदालतमा
काठमाडौं । न्युरोड गेटसँगैको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा विवाद छ । सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सेनाको स्वामित्वमा रहेको सो भवनमा एसटीसी होलसेल मार्केट सञ्चालित छ ।
जयन्ती निर्माण सेवा प्रालिसँग गरेको लिज करार सम्झौताको सर्त पालना नभएको भन्दै संस्कार नारायण भारीले काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकबहादुर कार्कीले सैनिक कल्याणकारी कोष र जयन्ती निर्माण सेवा प्रालिलाई करार सम्झौता विपरीत हुने गरी कुनै पनि किसिमको काम नगर्न अन्तरिम आदेश गरेका थिए । जयन्ती र निवेदक बिचमा २०७८ चैतमा लिज करार सम्झौता भएको थियो ।
अन्तरिम आदेश कायम रहँदै भवन व्यवस्थापन समितिका लेखापाल नानीराम थापा, पूर्व जर्नेलद्वय सुनिल विष्ट र कृष्णदेव भट्टले व्यापारीहरूलाई भवन छाड्न दबाब दिने गरेको आरोप व्यापारीहरूले लगाएका छन् । एसटीसी मार्केटका एक व्यापारी सुशिल नेपाल भन्छन्, ‘नानीराम थापासहितका पूर्वसैनिक अधिकृतहरूले भवन छाड्न दबाब दिइरहनुहुन्छ ।’
पूर्वसैनिक अधिकृतहरू भवन व्यवस्थापन समितिमा आबद्ध छन् । कल्याणकारी भवन १४ वर्षका लागि भाडामा लिने दिनेगरी भएको पुरानो सम्झौता तोड्दै,अदालतमा मुद्दा रहेकै अबस्थामा ब्यापारीलाई सक्नेगरी सैनिक कल्याणकारी भवन व्यवस्थापन समितिले मङ्सिर २६ मा नयाँ सम्झौताको लागी एकलौटी रुपमा शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।
सो निर्णय विरुद्ध अर्का व्यवसायी अस्मिलाल भट्टराईले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सो रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न अदालतले माघ २२ मा दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले कल्याणकारी कोषका जिम्मेवार अधिकारीले व्यापारीहरूलाई अनावश्यक दबाब नदिएको बताए । उनले भने, ‘अदालतको आदेश विपरीतका काम भए गरेको छैन ।’
