जाफ्स अध्यक्षमा डा. भुसाल निर्वाचित
काठमाडौं । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोमा भएको ३ दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय सेमिनार पश्चात भएको सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को अध्यक्षमा निर्वाचित डा. भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का वर्तमान अध्यक्ष हुन् र सन् २०१७ देखि हालसम्म उनी जाफ्सको महासचिव थिए ।
सार्क क्षेत्रका जाइका अलमनाईहरुको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सेमिनारमा जानका अध्यक्ष डा. भुसाल र उपाध्यक्ष डा. किरण रुपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त सेमिनारमा नेपालको तर्फबाट डा. भुसालको नेतृत्वमा ६ सदस्यीय टिमले भाग लिएको थियो ।
सो सेमिनारमा बोल्दै श्रीलंकाका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता संगठनको रुपमा रहेको जाफ्सले जापान र सार्क क्षेत्रका देशहरू बीचको सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै भविष्यमा समेत जाफ्सले यस किसिमको भूमिका निर्वाह गर्ने अपेक्षा राखे । उनले यस किसिमका सेमिनारले विभिन्न देशका अलमनाई सदस्यहरु बीचमा ज्ञान र अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताए ।
जाइका श्रीलंकाका प्रमुख केन्जी कुरोनुमाले अहिलेको विश्वमा समाजिक तथा आर्थिक विकास सबै राष्ट्रको प्राथमिकतामा रहेकोले त्यसको लागि अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव आवश्यक पर्ने हुँदा विभिन्न देशमा रहेका जाइका अलमनाई (जाफ्स) का सदस्यहरू बीचको सञ्जाल, समन्वय र एकता महत्वपूर्ण हुने र जाफ्सका कार्यक्रममा जाइकाको सहयोग रहने बताए । जाफ्स तथा जानका अध्यक्ष डा. भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रुपमा सहयोग गर्दै आएको र जापानबाट हामीले इमान्दारिता आफ्नो जिम्मेवारीको जवाफदेहिता, अनुशासन, समयनिष्ठता र जापानीहरूले आआफ्नो पेशामा गर्ने मेहनत सिक्नु पर्ने बताए ।
सेमिनारको अध्यक्षता गरेका श्रीलंका जाइका अलमनाई एसोसिएसनका अध्यक्ष एस.एम साथियाकामाले आफ्नो अलमनाईले यस किसिमको अन्तर्राष्ट्रिय सेमिनारको आयोजना पहिलोपटक गर्ने अवसर पाएको र यस सेमिनारले जापान र श्रीलंका बीचको सुमधुर सम्बन्धलाई अझै बलियो बनाउने र जापान र सार्क क्षेत्रका राष्ट्रहरूको बीचको सम्बन्ध समेत मजबुत हुने बताए ।
कार्यक्रममा जानका महासचिव सुश्री शान्तिलक्ष्मी शाक्यले जानका गतिविधिहरूको बारेमा प्रस्तुति गरेका थियो भने सार्क क्षेत्रका जाइका अलमनाईहरूबाट भए गरेका गतिविधिहरूको बारेमा सम्बन्धित देशका जाइका अलमनाईहरूका महासचिवहरूले प्रस्तुति गरेका थिए । सार्क क्षेत्रका जाइका अलमनाईहरूको छाता संगठनको रुपमा जाफ्सको स्थापना सन् २००८ मा भएको हो र यसको सचिवालय सन् २०१७ देखि काठमाडौँ, नेपालमा रहेको छ ।



