७० लाख तिरेर अमेरिका छिरेका रूकुमका रोका मगरको मृत्यु



काठमाडौं । अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ ।

पूर्व रुकुमको भुमे–७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हो । ७० लाख बढी खर्च गरेर झण्डै २ वर्ष अगाडि बिना भिसा मेक्सिकोको सीमाक्षेत्रबाट अमेरिका पुगेका उनको हृदयाघातबाट मृत्यु भएको आफन्तले बताएका छन् ।

हृदयाघातपछि तीन दिनअगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।

पारिवारिक स्रोतकाअनुसार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमती र छोराछोरी अमेरिका झिकाउने प्रक्रियामा थिए । तर उक्त प्रक्रिया पूरा नहुँदै रोकामगरको मृत्यु भएको छ । उनको नेपालमा रहेका उनकी श्रीमती र छोराछोरीहरू शोकमा डुबेका छन् । श्रीमती, २० वर्षीया छोरी र १५ वर्षीय छोरा दाङको घोराहीमा बस्दै आएका छन् । रोकामगर हालै मात्र बोस्टनमा बसाइसरेर काम गर्न थालेका थिए ।

परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रक्रिया सुरु गर्न लागिएको र सहयोगका लागि गोफण्डमी सुरु गर्ने योजना बनाएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए । परिवारको आर्थिक स्थिति राम्रो नभएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गर्न लागिएको हो ।