उद्योग वाणिज्य संघ साधारणसभाः व्यवसायीसँग हातेमालो गरेर अघि बढ्ने मेयर चाैधरीको प्रतिबद्धता

लहान । लहान नगरपालिकाका मेयर महेश चाैधरीले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने जनाएका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले वार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका मेयर चाैधरीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकोमा प्रशंसा गर्दै चार जना व्यक्तिहरुलाई कदर पत्रसहित सम्मान गर्दै उक्त कुरा बताएका हुन् ।

सम्मानित हुनेहरुमा संचार क्षेत्रका युवा मिडिया उद्यमी रेडियो सरगमको सञ्चालक फिरोज शेख, मैथलि साहित्यका अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, सामाजिक क्षेत्रमा मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडा, घरेलु महिला उद्यमी गुलाबदेवी महतो रहेका छन् ।

लहान नगरपालिकाका मेयर महेश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडी बढिरहेको मेयर चौधरीले बताए । ‘हामीले नगरपालिकाबाट पर्यटन, धार्मिक स्थल, बजारलगायत क्षेत्रमा विकास योजनाहरु सञ्चालन गरेका छौँ,’मेयर चौधरीले भने,‘यसले गर्दा यहाँको बजार व्यवसायी फस्टाउने लक्ष्य लिएका छौँ ।’

काभ्रेमा मन्दिर निर्माण, हाति दह विस्तार, दुर्गा मन्दिर, राम मन्दिर निर्माण, सपिङ्ग कम्पलेक्स, सल्हेश फुलवारीलाई विकास, युवाहरुलाई स्वरोजगारको तामिल र आर्थिक सहयोग गरिरहेको उनले सुनाए । कृषि क्षेत्रमा विकास गर्न किसान विद्युत महसुल निःशुल्क र सहुलियत दरमा ट्याक्टर सेवा सञ्चालन गर्ने मेयर चौधरीले बताए ।

नगर अस्पताल, नहर र नयाँ बजार निर्माणलगायतका विकास योजना सञ्चालनको प्रक्रिया सुरु भइसकेको मेयर चौधरीले जानकारी गराएका छन् । आफुले यहाँको विकासका लागि दृढ रुपमा लागि परेको उनको दाबी छ ।

केहीदिन भित्रै लहान महोत्सव आयोजना हुने उनको भनाई छ । साधारणसभा कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुर्यकिरण वैद्य, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख टेकुनन्द ईवा लिम्बुलगायत व्यक्तिहरु अतिथिको रुपमा थिए ।

उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष विकास सारडाले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको उदघोषक उद्धब हमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *