मेयर चौधरीद्वारा मृतक परिवारलाई खाद्यान्न र नगद सहयोग

लहान । लहान नगरपालिका–१ का स्थानीय कलर सदायको निधन भएपछि लहानका मेयर महेश चौधरी शनिबार बिहान उहाँको घर पुगेर श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक परिवारलाई नगरपालिकाको तर्फबाट राहत तथा सहयोग प्रदान गरेका छन्।

मेयर चौधरीले दिवंगत सदायको परिवारलाई एक क्विन्टल चामल, दाल, नुन र तेल सहयोगस्वरूप हस्तान्तरण गरेका छन्। साथै, क्रियाखर्चका लागि पाँच हजार रुपैयाँ नगरपालिकाबाट उपलब्ध गराइने घोषणा गरेका छन्।

मृतकको परिवारलाई सान्त्वना दिँदै मेयर चौधरीले भने, ‘नगरपालिकाले विपन्न नागरिकका सुख-दुःखमा साथ दिनु आफ्नो जिम्मेवारी ठान्छ। विशेष गरी मुसहर समुदाय हाम्रो समाजको कमजोर वर्ग भएकाले उनीहरूलाई सहयोग र हौसला आवश्यक छ।’

मेयर चौधरी निर्वाचित भएदेखि नै लहान नगरपालिकाले मुसहर समुदायमा मृत्यु भएका प्रत्येक व्यक्तिको परिवारलाई क्रियाखर्चका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, यो सहयोगले समुदायमा राहतको अनुभूति दिलाएको छ र स्थानीय सरकारप्रतिको विश्वास पनि बढाएको छ।

स्थानीय नेताहरू, समाजसेवी तथा समुदायका अगुवाहरूले मेयर चौधरीको यो निरन्तर सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गर्दै यसलाई ‘मानविय नेतृत्वको उदाहरण’ बताएका छन्।

नगरपालिकाले पछिल्ला वर्षहरूमा मुसहर समुदायका लागि बासस्थान सुधार, सरसफाइ, शिक्षा र स्वास्थ्यमा समेत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। मेयर चौधरीले भनेका छन्, ‘हामी विकाससँगै मानवीय सेवामा पनि अग्रसर छौं। कुनै पनि नागरिक असहाय महसुस नहोस् भन्ने हाम्रो प्रयास हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *