रूखमुनी रातकाट्न विवश आशालाई मेयर चौधरीले गरे जस्तापाता हस्तान्तरण
सिराहा । मुलुककै ठूलो नगरपालिकाको रुपमा रहेको लहान नगरपालिकाका मेयर महेश चौधरी मनकारी मेयरका रुपमा परिचित छन् ।
लहानबासीको हरेक दुःखसुखमा सहभागी हुँदै पीडामा मल्हम लगाउन अग्रसर भएर लाग्ने मेयर चौधरीले लहान नगरपालिका वडा नं. २४ की एकल महिलालाई घर निर्माणका लागि सहयोग गरेका छन् ।
मेयर चौधरीले लहान–२४ की एकल महिला आशा दासको घर निर्माणका लागि जस्तालगायतका विभिन्न निर्माण सामाग्री घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा मेयर चौधरीले रुखमुनी बस्दै आइरहेकी आशाको परिवारलाई जतिसक्दो छिटो घर बनाउनु पर्ने जनाउँदै थप खाद्यान्न र आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । घर भत्किएपछि आशाको परिवार रुखमुनी रातकाट्न विवश रहेका थिए ।
चौधरीले नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै गरिब, दलित तथा एकल महिला, गर्भवती महिला लगायतको स्वास्थ्य तथा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेको गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम लहानमा ज्यादै प्रभावकारी बनेको स्थानीयले जनाएका छन् ।
उक्त कार्यक्रम हरेक महिनाको २२ गते गरिने र कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण अभावकै कारण जोखिम भोग्नु नपरोस् भन्ने हेतुले सञ्चालन गरिएको मेयर चौधरीले जनाएका छन् ।
साथै चौधरीले गरिबीका रेखामुनी रहेका बालबालिकाको शिक्षाका लागि सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाएका छन् ।
