जनताको पीडामा मल्हम लगाउँदै लहान नगरपालिका, करेन्ट लागेर ज्यान गुमाएका शिक्षकको घरमा राहतसहित पुगे मेयर चौधरी
लहान । लहान नगरपालिकाले जनताको पीडामा मल्हम लगाउँदै आएको छ । नगरपालिकाका मेयर महेशप्रसाद चौधरी विद्युतीय मोटरमार्फत धान खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर निधन भएका शिक्षकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उक्त अवसरमा मेयर चौधरीले सिरहाको लहान नगरपालिका २३ गाढा गाउँका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई राहत स्वरुप खाद्य सामग्री हस्तान्तरण समेत गरेका थिए । सिंचाइ गर्ने क्रममा करेन्ट लागेर जनता माविका शिक्षक सहनीको ४ असोजमा निधन भएको थियो ।
नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले स्वर्गीय सहनीको परिवारलाई खाद्य सामग्री हस्तान्तरण गर्दै सहनी परिवारमा परेको दुःखद् घडीमा नगरपालिकाको सधैं साथ रहने बताए । उनले मृतक सहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेका थिए ।
त्यही क्रममा उनले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई तत्काल राहत स्वरुप एक क्वीन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गरेका हुन् । खाद्य सामग्री हस्तान्तरण गर्दै उनले मृतक शिक्षककी पत्नी मञ्जु सहनीलाई योग्यता अनुसार सोही विद्यालयमा रोजगार उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । ‘मृतक शिक्षकका तीन छोराछोरीको शिक्षामा समेत आवश्यक सहयोग गर्छौं’ उनले भने ।
त्यस्तै लहान नगरपालिकाले मधुमेहको कारणले उच्च रक्तचाप, मृगौला फेल हुँदा पनि राम्ररी उपचार गराउन नसकेर २ असोजमा निधन भएका लहान १४ बस्तीपुरका बद्री पासवानका परिवारलाई पनि खाद्य सामग्री उपलब्ध गराएको छ । नगर चौधरीले पासवान परिवारलाई मंगलबार राहतस्वरुप एक क्वीण्टल चामल, पाँच÷पाँच किलो दाल, तेल र नुन तथा एक÷एक किलो मटर, चना, सोेयाविन दिएका हुन् । ‘नगरले दिएको खाद्य सामग्रीले थोरै भएपनि राहत हुन्छ भन्ने विश्वास लिएको छु’ उनले भने ।

खाद्य सामग्री हस्तान्तरणपछि उनले खाँबो मात्र ठड्याएर छोडेको पासवान परिवारको घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । ‘१३ औं तिथिपछि वडा कार्यालयसँगको समन्वयमा तपाईँहरुको घर निर्माणमा नगरले सघाउँछ’ उनले भने । वडाध्यक्ष धनीलाल यादवले पनि पासवान परिवारको घर बनाउन वडा कार्यालयले सघाउने बचन दिए । ‘मजदुरी गरेर श्रीमती र तीन छोराको लालनपालन गर्दै आएका बद्री करिब तीन वर्र्ष अघिदेखि थलिए पनि गरिबीको कारणले राम्रो ठाउँमा उपचार गराउन सकेका थिएनन्’ छिमेकी राजकुमार पासवानले भने ‘श्रीमान थलिएपछि सीताले निर्माण मजदुरीको काम गरेर श्रीमानसहित नाबालक छोराहरुको लालनपालन गर्नुपर्ने भएकाले घर निर्माण अलपत्र थियो ।’
नगरपालिकाले वार्षिक कार्यक्रम तथा बजेटमै गरिब, बिपन्नलाई सहयोग सम्बन्धी व्यवस्था गरी पोषण प्याकेज अन्तर्गत हरेक महिनाको २२ गते नगर क्षेत्रका विभिन्न वडामा पालैपालो गर्भवती सुत्केरीलाई खाद्य सामग्री, मुसहर समुदायमा कसैको मृत्यु भएमा सम्बन्धित परिवारलाई तत्काल किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद सहयोग तथा दलितसहित गरिब, विपन्न अन्यलाई खाद्य सामग्री उपलब्ध गराउँदै आएको नगरका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बताए ।
