प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ।
आइतबार काठमाडौंमा भएको कार्यक्रममा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान, र राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका सन्तोष परियारबीचको एकताको परिणामस्वरूप यो नयाँ पार्टी स्थापना भएको हो।
कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गरेका थिए। भट्टराई पार्टीमा अभिभावकीय भूमिकामा रहने बताइएको छ।
पार्टीमा कुल १५१ जना केन्द्रीय सदस्य रहनेछन्। नेतृ दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
नयाँ पार्टीले प्रगतिशील समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगाल्ने जनाएको छ। यसको चुनाव चिन्ह ‘आँखा’ तोकिएको छ। पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए।
