मिथिला क्षेत्रमा छठ पर्व सुरू, शनिबार ‘नहाय-खाय’ विधि

काठमाडौं । मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत शनिबार ‘नहाय-खाय’ विधि गरिँदैछ।

व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो। ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चतुर्थी तिथिमा गरिन्छ।

छठ प्रारम्भ भएसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन्। छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी(छठी) देवीको महिमा गाइएका गीत गुञ्जिन थालेको छ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यो पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाउने परम्परा छ। यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ। पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक पर्छ।

व्रतालुले पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *