क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको पहल अपरिहार्यः मेयर चौधरी

लहान । लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सम्बन्धी एक वृहत कार्यक्रमको आयोजना गरेको छ ।

क्याम्पसमा शुक्रबार सम्पन्न अन्तरक्रियात्मक कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरीका साथै सुरुङा नगरपालिका, धनगढीमाई नगरपालिकाका प्रमुखका साथै सम्बन्धित नगरपालिकाका माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकलगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा लहान नगरपालिकाका मेयर महेश चौधरीले यस क्याम्पसले स्थानीय स्तरमै रहेर गुणस्तरीय शिक्षा दिँदै गइरहेको र भविष्यमा आर्थिक रुपमा अझ सबल बनाउँदै शैक्षिक क्षेत्रको उन्नती गराउन आफ्नो पहल रहने बताए ।

उनले यस क्याम्पसका कारण स्थानीयहरुले आफ्नै घर आँगनमा अभिभावकसँगै बसेर गुणस्तरीय शिक्षा लिन पाएकोले यसलाई थप गुणस्तरीय बनाउन अभिभावक, विद्यार्थी र सरोकारवालाले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले यस कलेजलाई यस क्षेत्रकै नमूना कलेजको रुपमा स्थापित गर्नुपर्ने सबैको दायित्व रहेको बताए ।

उक्त अन्तरक्रियामा कलेजमा अध्यापनरत शिक्षकका साथै स्ववियू प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *