प्याब्सक नयाँ नेतृत्वका लागि सिलवालको उम्मेदवारी

काठमाडाैं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को छैटौं अधिवेशन यही सोमबार हुँदैछ । नयाँ कार्यसमितिको निर्वाचनसँगै अधिवेशनमा पछिल्लो समयको शैक्षिक गतिविधिबारे विश्लेषण र छलफल हुने अनुमान गरिएको छ ।

संगठनको अधिवेशनमार्फत निर्वाचित हुने नयाँ कार्यसमितिकाे अध्यक्षमा मिरा सिलवालको सम्भावना प्रबल रहेको छ । शिक्षा क्षेत्रमा करिब तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएकी सिलवाल प्रोग्रेसिभ सेकेन्डरी विद्यालयकी अध्यक्ष तथा विनायक सिद्ध कलेजको सञ्चालक समितिमा आबद्ध छन् ।

शिक्षण सिकाइ, शैक्षिक नेतृत्व तथा विद्यालय व्यवस्थापनमा उनले पुर्‍याएको योगदानका कारण सिलवाललाई शिक्षा क्षेत्रमा प्रभावशाली तथा अनुभवी व्यक्तित्वका रूपमा चिन्ने गरिन्छ । शिक्षासँगै सामाजिक सेवामा समेत सक्रिय रहेकी सिलवाल विभिन्न सामाजिक अभियान तथा गतिविधिहरूमा निरन्तर संलग्न रहँदै आएकी छिन् ।

संगठनप्रतिको नेतृत्व क्षमता, व्यवस्थापकीय अनुभव तथा शैक्षिक क्षेत्रमा लामो समयदेखिको सक्रियताका कारण प्याब्सकको छैटौं अधिवेशनमा अध्यक्षका लागि उनको चर्चा रूपमा हुन थालेको हो ।

प्याब्सकको उपाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकी सिलवाल शैक्षिक संगठनभित्र अनुभवी, समन्वयकारी तथा दूरदर्शी व्यक्तित्वका रूपमा परिचित छिन् ।

सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक र सिपमूलक शिक्षालाई जोड दिनु पर्छ भन्ने मान्यता राख्ने सिलवाल बिद्यार्थीका अभिभावकहरूसँग छलफल र कमीकमजोरीको समाधान गर्नका लागि अब्बल छिन् । विद्यालयमा दक्ष र उत्प्रेरित शिक्षकहरूको व्यवस्था हुनुपर्छ भन्दै आएकी सिलवाल शिक्षा क्षेत्रको विकासका लागि राजनीतिभन्दा माथि उठेर शैक्षिक संस्थालाई गुणस्तरीय र अब्बल बनाउन क्रियाशिल रहँदै आएकी छिन् ।

प्याब्सकलाई नयाँ उचाइमा पुऱ्याउन, संगठन विस्तार र बृहत शैक्षिक एकता सहितका एजेण्डालाई मुर्तरुप दिन सिलवालले खेलेको भूमिकाले पनि उनको अध्यक्ष पदको उम्मेदवारी दाबेदारीलाई थप मजबुद बनाएको छ ।

अधिवेशन यही बैशाख २८ गते सोमबार चाबहिलमा रहेको केएल टावरस्थित इम्पेरियल बैंक्वेटमा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *