नवनियुक्त सशस्त्र आईजी पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघको बधाई
निवर्तमान आईजीलाई संघको आजीवन सदस्यता प्रदान
काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) नारायणदत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले बधाई तथा शुभकामना दिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित कृष्ण मोहन स्मृति भवनमा शनिबार आयोजित एक विशेष समारोहबीच संगठनको १३ औं आईजीका रुपमा कमाण्ड सम्हालेका आईजी पौडेललाई बधाई ज्ञापन गरिएको थियो ।
साथै सो कार्यक्रममा कार्यक्रममा सशस्त्र प्रहरी महिला संघकी नवनियुक्त अध्यक्ष सावित्रा कुमारी पौडेललाई पनि बधाई ज्ञापन गरिएको थियोे ।
संघका अध्यक्ष एवं अवकाशप्राप्त एआईजी नारायणबाबु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, पूर्व महानिरीक्षकहरु सनत कुमार बस्नेत र सिह बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसका साथै कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल र गणेश ठाडा मगर, पूर्व अतिरिक्त महानिरीक्षक, बहालवाला डिआईजीहरुसहित उपत्यकामा रहेका पूर्व सशस्त्र प्रहरीहरुको उपस्थिति थियो ।
कार्यक्रममा नवनियुक्त महानिरीक्षक पौडेलले सम्बोधन गर्दै ठूलो संख्यामा सशस्त्र प्रहरी बलमा सेवा गरि सेवानिबृत जीवन ब्यतित गरिरहनुभएका भूपू तथा संगठन वीचको सम्बन्ध जहिले न्यानो र आत्मिय रहने र यो जनशक्ति संगठनकै लागि समेत शक्तिको रुपमा रहने साथै कल्याणकारी कार्ययोजना अन्तर्गत भूपू लक्षित कार्यक्रमहरु योजनाबद्व रुपमा अघि बढाइने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा नवनियुक्त आईजी पौडेललाई पूर्व महानिरीक्षक सनत कुमार बस्नेतले बधाई तथा संघका अध्यक्ष नारायणबाबु थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
निवर्तमान आईजी अर्याललाई संघको आजीवन सदस्यता प्रदान
सोही कार्यक्रममा निवर्तमान निवर्तमान आईजी राजु अर्याललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघमा स्वागत गर्दै संघको आजिवन सदस्यता प्रदान गर्नुको साथै संघको लोगो अंकित कोट समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष नारायणबाबु थापाले अर्याललाई स्वागत गरेका थिए । त्यसैगरी संघको सदस्यता ग्रहण गर्दै अर्यालले समेत आफ्नो चार बर्षको संगठन प्रमुखको कार्यकालमा भूपू संघ लगायत देश विदेशमा छरिएर रहेका सबै भूपूहरुबाट सदा न्यानो माया, सहयोग र सद्भाव प्राप्त गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

