बाैंदीकाली गाउँपालिकाले नै पढाउने भयाे लोकसेवा तयारी कक्षा !

नवलपुर । संघीय सरकारले उपलब्ध गराएको बजेट सदुपयोग गर्नका लागि स्थानीय तहहरुले अनेक कार्यक्रम ल्याउने गरेका छन् । यसै शिलशिलामा पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने लोकसेवा अध्ययन गर्न चाहनेका लागि कक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै लोकसेवा तयारीका लागि गाउँपालिकामा स्थायी बसोबास गरेका लोक सेवा पढ्न इच्छुक नेपाली नागरिकबाट लोकसेवा आयोगद्वारा लिइने सहायक स्तर चौथो र पाँचौं तह अप्राविधिक पदको प्रतियोगितात्मक परिक्षासम्बन्धी तयारी कक्षा सञ्चालन गर्ने भएकाले त्यसमा सहभागी हुनका लागि ७ दिनभित्र निवेदन आह्वान गरेको छ ।

गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनको मिति भने तोकिसकेको छैन । आगामी माघ २७ गतेसम्म दरखास्त दिन आह्वान गरिएको उक्त सूचनाअनुसार प्लस टू उत्तीर्ण गरेर १८ देखि ३५ (महिलाको हकमा ४० वर्ष) सम्मका उम्मेदवारहरुले दरखास्त दिन सकिने जनाएको छ ।

बौंदीकाली गाउँपालिकाले शिक्षासम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याए पनि खासै सफल भने हुन सकेको देखिएको छैन । यसअघि प्राविधिक शिक्षा अध्ययन छात्रवृत्तीका लागि आह्वान गरिए पनि दोस्रो पटकको सूचनासम्म पर्याप्त निवेदन नपरेपछि तेस्रोपटक पनि सूचना प्रकाशित गरेको थियो ।

विकासका आधारभूत कुराहरुबाट बन्चित रहेको नवलपुरकै सबैभन्दा दुर्गम मानिएको बौंदीकालीमा पछिल्लो समय तालिम, छात्रवृत्ति जस्ता शीर्षकमा बजेट विनियोजन गरिएको देखिएको छ । ‘पालिकाको विकासका लागि ठोस कार्यक्रम ल्याउन उल्लेखनीय भूमिका खेल्न नसकेको गाउँपालिकाले यस्तै झिनामसिना तालिम, छात्रवृत्ति जस्ता विषयमा अल्झिएको देखिएको छ’, एक स्थानीय गुनासो पोख्छन् ।

अहिलेको अवस्थामा पनि राष्ट्रिय प्रशारणको बिजुली पुरै गाउँपालिकाभर पुग्न नसक्नु, वर्षायाममा सडक सञ्जालबाट विच्छेद हुनु, भएका उत्पादनहरुको बजारीकरणका लागि गाउँपालिकाले उल्लेखनीय योगदान दिन नसक्नु, दीर्घकालीन विकास निर्माण भन्दा पनि सानातिना कुराहरुमा अल्झिएर बस्नु जस्ता समस्या गाउँपालिकामा देखिएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *