उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्दै लहान नगरपालिका

यसै महिनादेखि मूल्यांकन फारम लागू हुने



लहान । लहान नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने जनाएको छ ।

बुधबार घुम्ती प्रअ बैठकलाई सम्बोधन गदैै मेयर महेश चौधरीले विद्यालयसँगै हरेक विद्यालयबाट ‘टप–१०’ भित्र पर्ने विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्न सहयोग गर्ने पनि जनाएका छन् ।

यही महिनादेखि मुल्याकंन फारम लागु हुने जनाउँदै त्यसको तयारी स्वरूप आइतबार विद्यालयहरुलाई फारम र सेनेटरी प्याड पनि वितरण गर्ने नगरपालिकाको शिक्षा शाखाले तयारी गरेको छ ।

फारम कक्षा ६ देखि १० सम्मका कक्षामा दिइनेछ । जसको लागि हरेक कक्षामा लिडर र सहायक लिडर चयन गरिनेछ । उनीहरुबाट फारममा कक्षाकोठामा शिक्षक आएको समय, पढाएको विषय, त्यस कक्षामा उपस्थित विद्यार्थी संख्या, गृहकार्यको विषय, पठनपाठन गराइएको विषय उल्लेख गरिएको छ ।

मुल्याकंन फारम लागु गरेपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास लिएको पनि मेयर चौधरीले जनाएका छन् । उनले नगरपालिकाले विद्यालयको हरेक समस्या समाधानका लागि विद्यालयका प्रधानाध्यापकहरूकै सल्लाह र सुझावअनुसार नगरपालिका अगाडी बढेको बताए । त्यसका लागि भविष्यमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयलाई सुधार गर्न अझै प्रअहरु सक्रिय हुनुपर्ने उनको भनाई थियो । साथै उक्त अवसरमा कक्षा १,२ र ३ को लागि गणित स्वध्याय सामग्री पुस्तक पनि विद्यालयहरुलाई वितरण गरिएको थियो ।