लहानको सृजना सामुदायिक पुस्तकालयमा सूचना तथा प्रविधि कक्ष स्थापना



लहान । सृजना सामुदायिक पुस्तकालय लहान नगरपालिका–११ पडरियामा बिहिबार सूचना संचार तथा प्रविधि कक्ष स्थापना भएको छ । सोहीसँगै निःशुल्क तालिम कक्षाको पनि सुरु भएको हो । जसको उद्घाटन मेयर महेश चौधरीले गरेका छन् ।

रिड नेपालको सहयोगमा व्यवहारिक सामुदायिक समाधान कार्यक्रम अन्तर्गत यो प्रविधि कक्षको स्थापना भएको हो । जसमा वडा ११, १२, १३ र १४ का दलित, गरिब मजदुरका छोराछोरीलाई निःशुल्क कम्प्युटर कक्षा दिइने पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीले सुनाए । ३५ जना विद्यार्थीहरुलाई पहिलो चरणमा कम्प्युटर शिक्षा प्रदान गरिने योजना रहेको छ ।

यसै पुस्तकालय मार्फत दलित वस्तीहरुमा निःशुल्क टयुशन कक्षा पनि सञ्चालनमा रहेको छ । वडा १३ डण्डाटोल मुसहर वस्तीमा पनि सामुदायिक पुस्तकालय निर्माण सुरु गरेको छ । जसमा नगरपालिकाबाट अपुग आर्थिक सहयोग गर्ने मेयर महेश चौधरीले प्रतिबद्धता जनाएका छन् ।

‘पुस्तकालयले गाउँगाउँमा शिक्षा क्षेत्रमा राम्रो कार्य गरिरहेको छ । आफु त्यसबाट प्रभावित भएको छु,’मेयर चौधरीले भने,‘पुस्तकालयसँग हातोमालो गरेर नगरपालिकाबाट थप सहयोग गर्छु ।’ समाजमा सकारात्मक परिवर्तन गर्न संघ/संस्थाको भूमिका उल्लेखनिय रहेको उनले सुनाए ।