समृद्ध लहानका लागि पर्यटनको मोडल हेर्न विदेश भ्रमणमा गयौंः मेयर चौधरी



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानलाई पर्यटनका लागि नमुना सहर बनाउने प्रतिबद्धता जनाएका छन् ।

नयाँ आर्थिक वर्षको बजेट पास गरिसकेपछिको ‘भ्याकेन्ट’ समयमा विश्वकै पर्यटकीय मुलुकहरुमा निजी भ्रमण गरेर फर्किसकेपछि मेयर चौधरीले लहानमा छिमेकी मुलुक भारतीय पर्यटकहरुलाई भित्र्याउनका लागि पहल गर्ने जनाए । ११ दिनको  विदेश भ्रमणका लागि सिंगापुर, मलेशिया र थाइल्याण्ड गएर फर्किसकेपछि पत्रकार सम्मेलनमार्फत् भ्रमणको उद्देश्य र भ्रमणबारे प्रष्ट पारे ।

उनले आफूहरु व्यक्तिगत खर्चमा १५ जना ११ दिनका लागि १ लाख १५ हजारको प्याकेजमा ती मुलुकको भ्रमण गरेको जनाए । विदेश भ्रमणमा रहँदाकै बखत सञ्चारमाध्यममा तथ्यहिन समाचार आएको जनाउँदै मेयर चौधरीले ट्राभल एजेन्सीमार्फत् प्याकेजमा भ्रमण गएको बताए । मेयर चौधरीले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति लक्षित गर्दै भ्रमण खर्चबारे नगरपालिकाको कार्यालयमा गएर सूचना लिन सकिने पनि जनाए ।

उक्त अवसरमा उनीहरुले ती मुलुकहरुको कृषि, पर्यटन र अन्य क्षेत्रका बारेमा ज्ञान लिने अवसर पाएको बताए ।

थाइल्याण्ड विश्वकै पर्यटकीय स्थलको रुपमा परिचित भएको उल्लेख गर्दै मेयर चौधरीले लहानको वस्तुस्थितिअनुसार भारतीय पर्यटकहरुलाई आकर्षित गर्न सकिने जनाए । त्यस्तै सिंगापुर र मलेशियाको विकासलाई थोरै हदसम्म भए पनि अनुशरण गरिने जनाए ।