स्थानीय निर्वाचनः बौंदीकालीमा कुन पार्टीबाट कस्को सम्भावना ?



बौंदीकाली । देशभर आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दो क्रममा छ । पूर्वी नवलपरासी अर्थात् नवलपुरको पहाडी गाउँपालिका बौंदीकालीमा पनि चुनावी सरगर्मी बढेको छ ।

बौंदीकाली गाउँपालिकामा विगतका पञ्चायतकालसमेतको गरी अहिलेसम्म ४ पटकसम्पन्न स्थानीय निर्वाचनमा एकै जनाले नेतृत्व गरिरहेका छन् । तत्कालिन रकुवा गाउँपञ्चायतबाट प्रधानपञ्च जितेका दुर्गाबहादुर राना त्यसपछि २०४६ सालको जनआन्दोलनपछि सम्पन्न स्थानीय निर्वाचनमा पहिलो गाविस अध्यक्षको रुपमा विजयी भएका थिए । त्यसपछि २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा पनि गाविस अध्यक्ष भएका थिए । त्यसपछि २० वर्षपछि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पहाडका तत्कालिन ५ गाविस र एउटा गाविसको केही वडालाई समेटेर बनाइएको बौंदीकाली गाउँपालिका प्रमुखमा पनि उनैले जित हात पारेका थिए ।

तर, यसपटकको स्थानीय निर्वाचनमा भने उनले बिश्राम लिने लक्षण देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले जित हात पार्दै आएको बौंदीकालीमा रानापछि कसले नेतृत्व सम्हाल्ने हो त्यो हेर्न बाँकी नै छ ।

उम्मेदवारी दर्ताको १ महिना अवधि बाँकी रहँदाको अवस्थामा बौंदीकाली प्रमुखका लागि नेपाली कांग्रेसका तर्फबाट पालिका सभापति समेत रहेका केबी राना स्वयम्ले दाबी गरिरहेका छन् । पत्रकारिता पृष्ठभूमि रहेर अधिकांश समय सदरमुकाम कावासोती बसेर व्यापार व्यावसाय गर्दै आएका रानाले पछिल्लो समय कांग्रेस सभापति भएपछि गाउँपालिका अध्यक्षमा दाबी गर्न थालेका हुन् । तर, उनी कावासोती बसेर व्यवसाय गर्ने गरेको र कतिपय आर्थिक अनियमितताका घटनामा जोडिने गरेकोसमेत आरोप लाग्ने गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट अर्को सम्भावित उम्मेदवारको रुपमा वर्तमान उपप्रमुख मायादेवी श्रेष्ठ पनि हुन् । गत निर्वाचनमा उपप्रमुखमा जित हात पारेकी श्रेष्ठले यसपटक गाउँपालिकामा महिला नेतृत्वको कुरा उठाउने गरेकी छिन् । यसबाट उनी पनि आकांक्षीको रुपमा रहेको प्रष्ट हुन्छ । तर, उनले उपप्रमुख कार्यकालमा सन्तोषजनक काम नगरेको, नातावादलाई प्रश्रय दिएको आरोप लगाउनेहरु पनि उनकै वडामा देखिएकोले त्यति सहज भने नहुने देखिएको छ । तर, पनि यसअघि नवलपुरकै हुप्सेकोट र कावासोती नगरपालिकामा महिला नेतृत्व रहेकोले त्यहाँका नेतृत्वले राम्रो काम गरेको उदाहरण दिँदै बौंदीकाली पनि महिलाको नेतृत्व हुनुपर्नेमा श्रेष्ठनिकटले जोड दिएका छन् ।

बौंदीकालीमा कांग्रेसका अर्का बलिया प्रतिस्पर्धी हुनसक्छन्, वडा नं. ४ का वर्तमान वडाध्यक्ष मनबहादुर सारु । उनले बौंदीकालीमा सबैभन्दा सफल वडाध्यक्षको परिचय बनाएका छन् । उनको नेतृत्वमा उनको वडामा गरिएका पर्यटनलक्षित, कृषिलक्षित कार्यक्रमहरु सफल भएकोले उनलाई आगामी नेतृत्व दिएमा गाउँपालिकाले मुहार फेर्ने सम्भावना रहेको पनि प्रमुख प्रतिपक्षीको रुपमा रहेको एमालेका नेता तथा कार्यकर्तासमेत बताउँछन् । तर, सारु पार्टी सभापतिमा केबी रानासँगै पराजित भएको र दुवै एउटै वडाबाट प्रतिनिधित्व गर्ने भएकाले रानाले सारुलाई टिकटको सिफारिस नगर्ने समेत अनुमान लगाउन सकिन्छ ।

त्यस्तै गाउँपालिकाका उपसभापति डिल्लीराम राना पनि प्रमुखको आकांक्षी रहेका छन् । विगत लामो समयदेखि गाउँपालिकाको नेतृत्व गरेका दुर्गाबहादुर रानाका छोरासमेत रहेका राना पछिल्लो समय गाउँमै बसेर सामाजिक काममा सक्रिय रहेका छन् । राजनीतिक परिवेशमा हुर्किएका भएकाले उनीमा अन्यमा भन्दा राजनीतिक संस्कार रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । कांग्रेसभित्र अन्तिममा टिकटका लागि पालिका सभापति र उपसभापति रानाद्वयबीच नै प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।

त्यसबाहेक इन्द्र फाल, पुरुषोत्तम पाण्डेयलगायतले पनि यदाकदा अध्यक्षको दाबेदारी गरेको सुनिएको छ । पाण्डेयले आफूलाई गाउँपालिका अध्यक्षको रुपमा दाबेदारी प्रस्तुत गर्दै अहिले घरदैलो गरिरहेका छन् । उनी यसअघि वडा नं. ३ रकुवाबाट वडासदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिमा समेत निर्वाचित भएका व्यक्ति हुन् ।

त्यसबाहेक नवलपुरकै पिछडिएको गाउँपालिकाको रुपमा परिचित बौंदीकालीको विकासका लागि युवा एवं केन्द्रीय तहसँग पनि सम्बन्ध रहेका यज्ञप्रसाद पाण्डेको पनि नाम चर्चामा  आउन थालेको छ । यदि उनले टिकट पाएको खण्डमा बौंदीकालीका कतिपय एमाले कार्यकर्ता समेत खुलेर उनको पक्षमा लाग्ने बताउँछन् । केन्द्रीय नेतृत्वसँगको राम्रो पहुँचका कारण बौंदीकालीको विकासका लागि पाण्डेलाई कांग्रेसले टिकट दिनुपर्ने र त्यसका लागि आफूहरुले समेत पहल गर्ने एमाले कार्यकर्ताले बताएका छन् । तर, पाण्डे भने यसपटक आफू गाउँपालिका अध्यक्ष उम्मेदवार बन्ने सम्भावना नरहेको तर पार्टीले टिकट दिएको खण्डमा भने पछि नहट्ने बताएका छन् । उनी आफूले उम्मेदवार बने पनि नबने पनि व्यक्तिभन्दा पार्टी महत्वपूर्ण रहेकोले व्यक्तिभन्दा पनि पार्टीको उम्मेदवारलाई सहयोग गर्ने बताउँछन् ।

नेकपा एमालेका तर्फबाट भने गत निर्वाचनमा पराजित श्याम श्रेष्ठ सबैभन्दा सम्भावित उम्मेदवार हुन् । तर, पछिल्लो समय उनको जनमत त्यति राम्रो नभएको अनुमान गर्ने गरिएको छ । उनकै वडा नं. २ डेढगाउँमा समेत पार्टीलाई सही ढंगले लैजान नसकेको आरोप श्रेष्ठमाथि लाग्ने गरेको छ । गत निर्वाचनमा पराजित भईसकेपछि उनी वडा र केही टोलमा मात्र सीमित रहेको आरोप पनि लाग्ने गरेको छ । अध्यक्षमा सम्मानजनक मत ल्याए पनि पराजय भोग्न बाध्य श्रेष्ठले गत निर्वाचनपछिको अवधिमा वडामा मात्र सीमित नभएर गाउँपालिका भरकै जनतामाझ नजिकिने प्रयास नगरेको स्वयं एमालेकै कार्यकर्ताहरु बताउँछन् । त्यसले गर्दा अहिले पार्टीले टिकट दिनेबेलामा भने प्रश्न उठाउनसक्ने सम्भावना देखिएको छ ।

त्यस्तै एमाले तर्फबाट चर्चामा रहेका अर्का उम्मेदवार हुन् गाउँपालिका कमिटीका अध्यक्ष प्रकाश ओझा । विगत लामोसमयदेखि वृद्ध नेतृत्वले सम्हालिरहेको गाउँपालिकाको विकासका लागि युवाको भिजनसहित लैजानुपर्ने अभियानमा ओझा लागेको हुनाले उनको सम्भावना बलियो रहेको छ । उनलाई कतिपय नेपाली कांग्रेसकै युवाहरुको पनि साथ रहने देखिन्छ ।

त्यस्तै अर्का सम्भावित उम्मेदवारमा वडा नं. २ का वर्तमान वडाध्यक्ष बालप्रसाद ठाडा पनि रहेका छन् । गत स्थानीय निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर वडाध्यक्ष जितेका ठाडाले आफू अहिले पालिका प्रमुखको दाबेदार रहेको बताउने गरेका छन् । तर, उनलाई उनकै वडाका कतिपय एमाले कार्यकर्ताहरुले मन नपराउने गरेको जनाइएको छ । गाउँपालिका केन्द्र निर्धारणका अवसरमा उनको द्वैधचरित्रले एमालेकै मतदाताहरु असन्तुष्ट रहेको जनाइएको छ ।

त्यस्तै एमालेबाट अर्का सम्भावित र अपेक्षित उम्मेदवारका रुपमा बुद्धिसागर थापालाई समेत लिइएको छ । लामोसमय सरकारी सेवामा रहेर अवकाश जीवन बिताइरहेका थापा सहसचिवबाट सेवानिवृत्त व्यक्ति हुन् । पछिल्लो समय गाउँलाई केन्द्र बनाएर कृषिलगायत अन्य सामाजिक कार्यमा सरिक भईरहने थापा गाउँपालिका प्रमुख भएमा गाउँदेखि केन्द्रसम्मको सम्बन्ध स्थापित भएर पालिकाले मुहार फेर्ने सम्भावना रहेको पनि यदाकदा सुन्ने गरिएको छ । यदि उनलाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको खण्डमा पछिल्लो समय स्थानीय तहमा पार्टीभन्दा पनि व्यक्तिलाई हेर्ने भन्ने मानसिकता रहेकोले कांग्रेस मतदाताहरुको पनि बलियो साथ पाउने देखिएको छ ।

त्यस्तै एमालेबाट डेढगाउँका पदम श्रेष्ठको पनि चर्चा आउन थालेको छ । त्यस्तै वडा नं. ५ का वडाध्यक्ष खिमबहादुर खरु मगर पनि एमालेका तर्फबाट प्रभावशाली नेता मानिएका छन् । उनी युवा पनि रहेको र मगरसमूदायको व्यक्ति रहेको हुनाले एमालेले मगर र युवालाई प्राथमिकता दिएमा उनले टिकट पाउने सम्भावना पनि रहेको छ ।

उता, माओवादी केन्द्रको भने खासै प्रभाव नरहेको बौंदीकालीमा उम्मेदवारी रहने नहरनेमा कुनै निश्चित भएको छैन । त्यस्तै एकीकृत समाजवादीका तर्फबाट हालसम्म समिति गठन हुन नसकेको बौंदीकालीमा स्थानीय निर्वाचन अगाडि गाउँकमिटी गठन हुने जनाइएको छ । समाजवादीका नेता गोपाल खनालको गृहपालिका रहेको बौंदीकालीमा समाजवादीले कमिटी विस्तार गरेको खण्डमा एमालेको केही भोट काट्ने सम्भावना पनि छ । माओवादी र एकीकृतको निर्वाचनसम्म गठबन्धन हुने वा एकल निर्वाचनमा जाने भन्ने केन्द्रीय निर्णय नै निर्णायक हुनेछ । तर, यी दुवै दल गठबन्धनका साथ एकल निर्वाचनमा गए पनि बौंदीकालीमा खासै प्रभाव भने नपर्ने देखिएको छ । यी बाहेक अन्य दलका मतदाता भने बाैंदीकालीमा ज्यादै न्यून रहेकाले उनीहरूले उम्मेदवारी दिने सम्भावना नै नरहेकाे एक स्थानीय बताउँछन् ।

बौंदीकालीमा बहुमत जनसंख्या मगर समूदायका रहेको हुनाले कांग्रेस एमाले मध्येबाट मगर समूदायकै उम्मेदवार भएमा निर्वाचन नतिजा आफ्नो पक्षमा पर्ने कुरामा कुनै पनि दल अनविज्ञ भने छैनन् । यस गाउँपालिकामा दुवै दलबाट मगर समूदायकै उम्मेदवार भएको खण्डमा अत्यन्त प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

६ वटा वडा रहेको बौंदीकालीमा यसअघिको स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडा नं. १, ३ र ४ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो भने वडा नं. २, ५ र ६ मा भने नेकपा एमालेले जित हात पारेको थियो ।