रोटरी क्लब अफ तिनकुने काठमाडाैंको आयोजनामा ‘वातावरण संरक्षणमा हाम्रो अवस्था र चुनौती’ विषयक अन्तरक्रिया



काठमाडौं । अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा ‘वातावरण संरक्षणमा हाम्रो अवस्था र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनकुने काठमाडौंले वातावरण दिवसका दिन राजधानीमा आयोजना गरेको अन्तरक्रियामा विभिन्न वातावरणसँग सम्बन्धित विज्ञहरुको प्रस्तुती रहेको थियो ।

पहिलो महिला डिस्ट्रिक्ट गर्भनर जयाराज्य लक्ष्मी शाहको प्रमुख आथित्यतामा सम्पन्न अन्तरक्रियामा रोटरी क्लब अफ तिनकुने काठमाडौंका सदस्य एवं वातावरणविद् नवराज पोख्रेलले नेपालको वातावरणको अवस्थाबारे प्रस्तुती दिएका थिए । उनले नेपालको विविधताका कारण पछिल्लो समयमा वातावरण परिवर्तनको असर र कारणका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै वातावरण विद् डा. ध्रुव आचार्यले वातावरणको प्रभावमा रोटरीको भूमिका बारेमा प्रकाश पारेका थिए । डा. आचार्यले रोटरी क्लबहरुले जनतामाझ विभिन्न वातावरणसँग सम्बन्धित प्रोजेक्टहरु सञ्चालन गर्न सकिने जनाउँदै वातावरण संरक्षणका लागि आफूले गरेका केही उदाहरण समेत प्रस्तुत गरेका थिए ।

उनले रोटरी क्लबले वातावरणसम्बन्धी प्रोजेक्ट, पुनःप्रयोगसम्बन्धी प्रोजेक्ट, अर्गानिक कृषि, जमिनलाई पुनः चार्ज गर्ने जस्ता प्रोजेक्ट सञ्चालन गर्न सकिने बताएका थिए ।

त्यस्तै वातावरणविद् दिनेशराज मानन्धरले रोटरी क्लबमा वातावरणसँग सम्बन्धित विषयको प्रवेश इतिहासका साथै आगामी दिनमा पनि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा धारणा राखेका थिए । उनले रोटरीमा २०२० मा रोटरीको फोकस एरियाको रुपमा वातावरणलाई समावेश गरिएको जनाउँदै २०२१ को जनवरीदेखि प्रोजेक्टनै सञ्चालन गरिएको जनाउँदै जुन ५ लाई मात्र नभई हरेक दिन वातावरण संरक्षणका लागि हरेक रोटरियनले काम गर्नुपर्ने जनाएका थिए ।

त्यस्तै वातावरण विभागका प्रकाश केसीले अन्तरक्रियाका अवसरमा उठेका केही प्रश्नहरुको सरकारी तहबाट भएका कार्यको बारेमा जानकारी दिएका थिए । उनले नेपालमा वातावरणमा प्रभाव पार्ने कारण र त्यसका समाधानका लागि नागरिक तहबाट गर्नुपर्ने कामका बारेमा पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जया शाहले रोटरी क्लब अफ तीनकुने काठमाडौंले जनताको चासो र अत्यन्तै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको जनाउँदै यस अन्तक्रियामा उठेका प्रश्नहरुको जवाफ हरेक रोटरियनका साथै हरेक व्यक्तिले उठाउनुपर्ने जनाइन् । उनले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवादसमेत दिँदै आगामी दिनमा पनि यस किसिमको रोटरीको मूल मन्त्रसँग सम्बन्धित रहेर जनता, समाज र मुलुकका लागि सकारात्मक सन्देश दिने खालका कार्यक्रममा आफ्नो उपस्थिति सधैं रहने समेत प्रण गरेकी थिइन् ।

उक्त अन्तक्रियाको क्लबका संस्थापक अध्यक्ष तिलकप्रसाद तिवारीले सभापतित्व गरेका थिए । अन्तरक्रियामा विभिन्न क्लबका अतिथि रोटरियन प्रतिनिधिका साथै वन र वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।