‘रोटरी क्लब अफ तिनकुने’को नियमित बैठकमा धन्यवाद ज्ञापन
काठमाडौं । रोटरी क्लब अफ तिनकुने काठमाडौंका संस्थापक अध्यक्ष तिलकप्रसाद तिवारीले क्लबको स्थापनादेखि यो रोटा वर्षको करिब ७ महिनाको अवधिमा विभिन्न रुपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
क्लबको १४ औ नियमित वैठकका अवसरमा तिवारीले क्लबका संस्थापक सदस्य, क्लबलाई विभिन्न तवरवाट योग्दान गर्ने क्लब बाहिरका रोटरियन, क्लब स्थापनामा सहयोग गर्ने डिस्ट्रिक्ट गभर्नर, डिस्ट्रिक्ट अधिकारी, अन्य क्लबका अधिकारीहरु, क्लबका विभिन्न सेवा परियोजना, अभिमुखिकरण एवं विविध महत्वपूर्ण विधाका अन्तरक्रिया कार्यक्रममा आर्थिक, भौतिक, नैतिक एवं वैचारिक रुपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका हुन् । उनले क्लबको ९ महिनाको दौरानमा एउटा परिचय स्थापित गर्न सफल भएको भन्दै आगामी रोटा वर्षमा क्लब समुदायको सेवामा बढि केन्द्रित हुने प्रतिबद्धता समेत जनाए ।
संस्थापक अध्यक्ष तिवारीले क्लबलाई एक गतिशिल सामाजिक संस्थाका रुपमा अगाडि बढाउनका लागि आवश्यक सहयोग, साथ र समर्थन हिजोको दिनमा जस्तै आगामी दिनमा पनि प्राप्त हुने विश्वास व्यक्त गरे । वैठकमा उपस्थित क्लबका सदस्यहरुले ७ महिनाको क्लबको कार्यको समिक्षा गर्दै क्लबलाई नयाँ रोटा वर्षमा नयाँ शिराबाट अगाडि बढाउन आवश्यक सहयोग, साथ र समर्थन रहने प्रतिवद्वता व्यक्त गरेका थिए ।
क्लबबाट रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट कमिटिमा क्लब सदस्य गीता सुवेदी र डिस्ट्रिक्टकै अर्बान इन्भारोमेन्ट कमिटिमा वातावरणविद् नवराज पोखरेल मनोनित भएकोमा बधाई दिँदै डिस्ट्रिक्ट र क्लबबीचको सम्बन्धलाई जीवन्त बनाईराख्न यसले पनि मद्दत पुग्ने धारणा व्यक्त गरिएको थियो ।
नयाँ रोटा वर्ष २०२५-२६को अध्यक्ष समेत संस्थापक अध्यक्ष तिवारीले नै सम्हाल्नेछन् भने क्लबको एसिस्टेन्ट गभर्नरमा दिनेश श्रेष्ठ नै दोहोरिने छन् । क्लबको प्रेसिडेन्ट इलेक्टमा सावित्री पौडयाल केसी, प्रेसिडेन्ट नोमिनीमा तेज प्रसाद पौडेल, उपाध्यक्षमा प्रतिभा पुन, सचिवमा सुन्दर प्रसाद पाण्डे, उपसचिवमा मन्दिरा राउत थापा, कोषाध्यक्षमा दिनेश लामिछाने, क्लब मेन्टरमा भिम बहादुर बोगटी, सर्जेन्ट एट आर्म्समा प्रीति जोशी, एडमिन चेयरमा नवराज पोखरेल, सर्भिस प्रोजेक्ट चेयरमा गीता सुवेदी, टीआरएफ चेयरमा डिल्ली प्रसाद डोटेल, इन्भारोमेन्ट कमिटि चेयरमा भारती पाठक, क्लब वेभ साईट मेनेजरमा सुजय सिंह राजपुत, क्लब पब्लिक इमेज चेयरमा नवराज पौडेल, क्लब यूथ चेयरममा राजकुमार खतिवडा, क्लब एडभाईजरमा सुन्दर भूषाल र क्लबको एक्जुकेटिभ सक्रेटरी बानिक अधिकारी रहेका छन् ।
क्लबलाई रोटरी क्लब अफ जावलाखेलले स्पोन्सर गरेको थियो भने क्लबको न्यू क्लब एडभाईजरका रुपमा शारदा आर्चाय पोखरेल रहेकी छन् ।
क्लब स्थापनाको छोटो अवधिमा करिब ५ सय विद्यार्थीलाई न्यानो लुगा, स्कूल ब्याग, ८ जना विद्यार्थीलाई स्कलरशिप प्रदान कार्यक्रमको समन्वय, वातावरण संरक्षणका चुनौति र दायित्व विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना तथा ह्विलचियर हस्तान्तरण जस्ता कार्यक्रम सम्पन्न गरेको छ । त्यसका साथै विपन्न नागरिकको शौचालय निर्माणमा पहलकदमी लिइरहेको छ । क्लब गत रोटा २०२४-२५ को अक्टोबर २३ तारिखमा चार्टर भएको हो ।






