आजदेखि शुक्र अस्त, यस्ता मांगलिक कार्य नगर्दै राम्रो !

काठमाडौं । शुक्र ग्रह अस्त हुँदैैछ। बुधबार साँझ ७ बजेर २५ मिनेटदेखि शुक्र पश्चिममा अस्त हुन लागेको हो।यही चैत १० गते आइतबार दिउँसो १ बजेर १७ मिनेटमा पूर्वमा उदय हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यो अवधिमा विवाह, व्रतबन्ध आदि संस्कार सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका मांगलिक कार्य गर्न नहुने मान्यता रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कर्म आदि गर्न मिल्ने उनले जनाए। न्वारन, पास्नी, श्राद्ध, आदि निश्चित समयमा नगरी नहुने कर्म भने नरोकिने उनको भनाइ छ।

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्। यी दुवै ग्रह अस्त भएका वेला मांगलिक कर्म गर्न नहुने बताइन्छ।

मूल वैदिक परम्परामा भने वृहस्पति र शुक्रअस्तमा मांगलिक कार्य नरोकिने वैदिक तिथिपत्रम्का सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए।

घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *