

जहाज अवतरण हुने बित्तिकै पाइलटको मृत्यु !

नयाँ दिल्ली। एअर इन्डिया एक्सप्रेसका एक पाइलटको दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेपछि अकस्मात मृत्यु भएको छ । यो दुःखद घटना बुधवार भएको हो, जब पाइलट अरमान विमान ल्यान्ड गरेपछि अन्य प्रक्रिया पूरा गरिरहेका थिए ।
श्रीनगरदेखि दिल्लीसम्मको उडान सफलतापूर्वक अवतरण गरेपछि पाइलट अरमान असहज महसुस गर्न थालेका थिए । केही समयमै उनी बेहोश भई लडे। तत्कालै उनलाई अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।
पाइलट अरमानको मृत्युको कारण तत्काल खुलासा भएको छैन । शवको पोस्टमार्टमपछि मात्रै वास्तविक कारण थाहा हुने बताइएको छ । जानकारीअनुसार हालसालै मात्र अरमानको विवाह भएको थियो । उनका सहकर्मीहरूले जनाएअनुसार उनले ल्यान्डिङपछि ककपिटमै बान्ता गरेका थिए ।
एअर इन्डिया एक्सप्रेसले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतक पाइलटका परिवारलाई आवश्यक सबै सहयोग गर्ने जनाएको छ । एयरलाइनका प्रवक्ताले भने, ‘यो कठिन समयमा हामी शोकसन्तप्त परिवारसँग छौं। कृपया गोपनीयताको सम्मान गर्नुहोस् र अनावश्यक अडकलबाजी नगर्नुहोस् ।’