अन्तर्राष्ट्रिय बालिका दिवसमा बालिका सशक्तिकरणबारे रोटरीको कार्यक्रम



भक्तपुर । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटिले अक्टोबर ११ तारिख मंगलबार भक्तपुरको मेधा माध्यमिक बिद्यालयमा बालिकाको सशक्तिकरणका सन्दर्भमा एक अन्तरक्रिया तथा जागरणमुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

बालिकाको सशक्तिकरणका विविध आयामदेखि रोटरीको भूमिकाका सन्दर्भमा पनि कार्यक्रममा छलफल गरिएको छ ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बालिकामाथि हुने सवै प्रकारका घरेलु तथा लैंगिक हिंसाको अन्त्य नभएसम्म बालिकाको सशक्तिकरण हुन नसक्ने बताए । उनले हरेक बालिकामा आफुविरुद्वका हिंसाको प्रतिरोध कसरी गर्ने भन्ने विषयमा अभिमुखिकरणको खाँचो रहेको औंल्याए ।

बालिकाको सशक्तिकरणको सन्दर्भमा शिक्षा नै सवैभन्दा बलियो आधार भएकाले प्रत्येक बालिका शिक्षित हुने अवस्था सिर्जना गर्नेतर्फ आम रोटरियन तथा रोटरी क्लवको ध्यान पुग्नुपर्ने गभर्नर राजभण्डारीको तर्क थियो । प्रत्येक बालिकाले आफुले विभिन्न माध्यमवाट प्राप्त गरेका ज्ञान एवं शिक्षालाई व्यवहारिक जीवनमा लागु गर्न सक्ने अवस्था सिर्जना गर्न सकेको खण्डमा सशक्तिकरणको नारा सार्थक हुन सक्ने राजभण्डारीको भनाई थियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ की गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटिकी चेयर हेमा कुमारी अधिकारीले अन्तर्राष्ट्रिय बालिका दिवसलाई राज्यको प्राथमिकतामा पर्न नसक्नु विडम्बनापूर्ण भएको बताईन् ।

अधिकारीले प्रत्येक बालिकामा उच्च संकल्प शक्तिले जे पनि सम्भव हुन्छ भन्ने मानसिकताको विकास गर्न सकिएको खण्डमा बालिकाको सशक्तिकरण हुने बताईन् । उनले जागरण, शिक्षा, प्रेरणा, उचित मार्गदर्शनको अभावमा बालिकाको सशक्तिकरण यथास्थितिमा असम्भव रहेको बताउँदै त्यसका लागि अभिभावक, समाज, विद्यालय, सामाजिक संघसंस्था, संचारमाध्यम र राज्यले बालिकाको सशक्तिकरणका सन्दर्भमा विशेष अभियान सञ्चालन गनुपर्ने धारणा राखिन् । म केहि गर्न सक्छु भन्ने आत्मविश्वासको विकास, छोरी हुनुको हिनताबोधको अन्त्य र बाल्यकालदेखिनै आत्मसम्मानको महशुस गराउन सकेमा मात्र बालिकाको सशक्तिकरण सम्भव रहेकोले त्यसका लागि अभिभावक, बिद्यालय र समाज नै प्रेरणापुञ्ज बन्नुपर्ने तर्क अधिकारीले राखेकी थिईन् ।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटिको आयोजना, रोटरी क्लव अफ जावलाखेल र रोटरी क्लव अफ भक्तपुरको सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीले बालिका सशक्तिकरणका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा रोटरी क्लव अफ भक्तपुरकी अध्यक्ष बिनिता हाडाले स्वागत गरेकी थिईन् भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ जावलाखेलका निर्वतमान अध्यक्ष प्रविण भट्टराईले गरेका थिए ।

कार्यक्रममा रोटररियन समेत रहेकी प्रशिक्षक आरधना श्रेष्ठले सफ्ट स्किल्सबारे बिद्यालयका कक्षा नौका छात्र तथा छात्राहरुलाई प्रशिक्षण प्रदान गरेकी थिईन् ।