

त्रासमा भिमादबासीः दिनभर पसलमै बसेर रात बिताउन अन्तै जान्छन्…

तनहुँ । तनहुँको भिमादबजार । दक्षिणी तनहुँका साथै नवलपुरका पहाडी भेग र पूर्वी पाल्पाका स्थानीयले बजार भर्ने ठाउँ । पृथ्वीराजमार्गदेखि नजिकै रहेको भिमाद बजार अहिले सेती नदीका कारण जोखिममा परेका छन् ।
भिमादको मुख्य बजार मानिएको कुमार चोकका व्यापारीहरु आजभोली दिनदिनै त्रासमय वातावरणमा दिन कटाइरहेका छन् । दिनप्रतिदिन सेती नदीले कटान गरेका कारण भिमाद बजारको एकापट्टिका सबै घरहरु निकै जोखिममा रहेका छन् । कतिपय घरहरुबाट तलतिर हेर्दा सेती नदी बगिरहेको स्पष्टै देखिन्छ । केही सामान खस्यो मात्रै भने पनि सेती नदीमै पुग्छ ।
जोखिमका कारण कतिपय व्यापारीहरु दिनभरि पसलमा बसेर रातीको समयमा अन्यत्रै सुरक्षितस्थलतिर जाने गरेका छन् ।
सेती नदीका कारण तनहुँको भिमाद नगरपालिकाको ५ र ६ नम्बर वडा रहेको भिमाद बजारका सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । मुख्य गरी भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् ।
वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र झन् धेरै कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।
सेती नदीले कटान गरेका कारण भिमाद–६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले बताइन् ।
नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताइन् । सेतीनदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन । उपप्रमुख खनालले भनिन्, ‘बस्ती जोगाउन गण्डकी प्रदेश र सङ्घीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौँ ।’
त्यसैगरी भीमाद–५ का दलित बस्तीका करिब २२ घरधुरी जोगाउनका लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य सुरु भइसकेको उनले जानकारी दिइन् । सेती नदीले कटान गरेको क्षेत्रमा नदीलाई छेकेर मर्निङ्ग पार्क बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउने प्रयास भइरहेको बताइएको छ । बस्ती क्षेत्र संरक्षणका लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएको र यसका लागि ठूलै बजेटको आवश्यक पर्ने नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए ।
नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरुपमा लागि रहेको उनको भनाइ थियो ।