इन्स्पेक्टर सन्तोषी आत्महत्या प्रकरणः दुरूत्साहन भन्दै अर्का इन्स्पेक्टरविरूद्ध किटानी जाहेरी



कास्की । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत आफ्नै ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महतको मृत्युको कारण पत्ता लगाउन सशस्त्र प्रहरी बलले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तर, परिवारले यो घटनालाई आत्महत्या मात्रै नभई दुरुत्साहनको दृष्टिले हेर्नुपर्ने माग राख्दै इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएका छन् । जोशी महतभन्दा एक ब्याच सिनियर छन् । उनीविरुद्ध कास्की प्रहरीमा उजुरी परेको हाे ।

सिन्धुपाल्चोक घर भएकी महतले सशस्त्र प्रहरीमा ९ वर्षदेखि सेवा गरिरहेकी थिइन् । जवानबाट करियर सुरु गरेकी उनले २०७८ मा असई र २०८१ मा निरीक्षक पदमा बढुवा पाएकी थिइन् । पोखरास्थित लामापाटनको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा प्रशिक्षण गरिरहेकी उनी तालिम सकिन नपाउँदै मृत फेला परेकी हुन् ।

महतको मृत्यु रहस्यमय भएको भन्दै छानबिनको माग तीव्र बनेको छ । आत्महत्या वा दुरुत्साहनको कोणबाट अनुसन्धान हुने भन्दै प्रहरी उच्च नेतृत्वले गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

उनको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याईएको छ । सिन्धुपाल्चोककी महतका बाबु आम हाल अष्ट्रेलियामा छन् । उनीहरु नेपाल आएपछि अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।