नवलपुर कांग्रेसका विजेतालाई प्रमाणपत्र



नवलपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको नवलपरासी (ब.सु.पू) को जिल्ला अधिवेशनका नवनिर्वाचित महासमिति सदस्य र जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्ला निर्वाचन समितिले सोमबार नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापनका साथै प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको हो ।

उक्त अवसरमा नवनिर्वाचित महासमिति सदस्य, जिल्ला सभापतिलगायतका पदाधिकारी र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस नवलपुरमा जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत् चयन भएका थिए भने अन्य पदाधिकारीमा मतदान भएको थियो ।

उक्त अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नवलपुरका पूर्व कांग्रेस सभापति कृष्णचन्द्र नेपालीको पनि उपस्थिति रहेको थियो ।

साथै उक्त अवसरमा निवर्तमान जिल्ला अध्यक्ष विष्णु प्रसाद लामिछानेले नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसीलाई पदभार हस्तान्तरण समेत गरेका थिए ।