डा. कोइराला र चौधरीको ‘भिजन’मा सम्हालिँदै नवलपुर कांग्रेस



पछिल्लो समय उद्योगपति विनोद चौधरी सक्रिय राजनीतिमा लागेका छन् । जसको प्रत्यक्ष उदाहरण २ महिना अघि सम्पन्न नेपाली कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यका लागि उनले दिएको उम्मेदवारी नै हो । उनले उम्मेदवारी मात्र दिएनन् देशभरका कांग्रेस कार्यकर्ताले उनको राजनीतिक उपस्थिति स्वीकारे अनि केन्द्रीय सदस्यमा निर्वाचित पनि गराए ।

नवलपुर जिल्लालाई आधार क्षेत्र बनाएर राजनीतिमा लागेका चौधरी पछिल्लो समय जिल्ला राजनीतिमा पनि सक्रिय रुपमा लागेका छन् । जसको प्रमाण जिल्ला सभापति जस्तो पदमा सर्वसम्मत गराउन सफल रहनु देखियो । नेपाली कांग्रेसको पकड जिल्ला मानिएको नवलपुर कांग्रेसका पूर्वमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य डा. शशांक कोइराला र विनोद चौधरीको संयुक्त प्रयासले नै जिल्ला सभापति जस्तो अधिकारसम्पन्न पदमा सर्वसम्मत् चयन भएको हो ।

कांग्रेसबाट पटक–पटक प्रतिनिधित्व गरेका महेन्द्रध्वज जिसीलाई सर्वसम्मत् रुपमा सभापतिमा चयन गर्नका लागि डा. कोइराला र चौधरीले खेलेको भूमिका केन्द्रीय नेतृत्वसम्म पनि पछिल्लोसमय चर्चाको विषय बनेको छ ।

देशभर माओवादीको लहर चलिरहेको पहिलो संविधानसभामा समेत नवलपुरबाट दुवै क्षेत्रमा जित हात पारेको नेपाली कांग्रेसले गत निर्वाचनमा भने एक क्षेत्रमा पराजय भोग्नुपर्यो । सो नतिजाबाट पाठ सिकेर जिल्ला नेतृत्वले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरुबाट नै सहमति र सहकार्यका साथ अगाडि बढ्न लागेको संकेत जिल्ला अधिवेशनको परिणामबाट नै स्पष्ट हुन्छ ।

जिल्ला सभापति नै आगामी निर्वाचनको टिकटका लागि अधिकारसम्पन्न व्यक्ति भएको हुँदा अन्य आकांक्षीहरुलाई मिलाएर लैजानसक्नुबाट डा. कोइराला र चौधरीको कुशलता पुष्टी भएको छ । जिल्ला सभापतिका लागि आकांक्षी देखिएका युवा नेता बालकृष्ण घिमिरेलाई उपसभापतिमा रहनका लागि तयार गराउनु दुई केन्द्रीय सदस्यको मुख्य भूमिका रहेको थियो ।

त्यस्तै जिल्ला नेतृत्वका लागि पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा नवलपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका विष्णुबहादुर कार्कीले पनि दाबी गरेका थिए । विगत लामोसमयसम्म जिल्ला नेतृत्व सम्हालेका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेपछि नवलपुरले पछिल्लो समय केन्द्रीय एवं प्रदेशमा बलियो उपस्थिति जनाएको छ ।

जिल्ला सभापतिका लागि निवर्तमान सभापति विष्णु लामिछाने, बालकृष्ण घिमिरे, मदनभक्त अधिकारी, विष्णु कार्कीलगायत आकांक्षी रहेको नवलपुरमा जिसीलाई सर्वसम्मत् गराउन सक्नु केन्द्रीय सदस्यद्वयको नेतृत्वक्षमता र कुशलता नै प्रमुख कारण देखिन्छ ।

देशभर माओवादीको लहर चलिरहेको पहिलो संविधानसभामा समेत नवलपुरबाट दुवै क्षेत्रमा जित हात पारेको नेपाली कांग्रेसले गत निर्वाचनमा भने एक क्षेत्रमा पराजय भोग्नुपर्यो । सो नतिजाबाट पाठ सिकेर जिल्ला नेतृत्वले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरुबाट नै सहमति र सहकार्यका साथ अगाडि बढ्न लागेको संकेत जिल्ला अधिवेशनको परिणामबाट नै स्पष्ट हुन्छ ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा सहमती गरेर नै अन्य राजनीतिक दलसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन सकिन्छ भन्ने विश्वास लिएर नवलपुरमा डा. कोइराला र चौधरीले खेलेको अभिभावकीय भूमिकाबाट देशका अन्य नेतृत्वले पनि सोच्नुपर्ने बेला आएको छ ।

हो, कार्यकर्ताहरुलाई डा. कोइरालाको जिल्ला उपस्थिति कम लाग्न सक्छ । तर बिर्सनु के हुँदैन भने, डा. कोइराला यसअघि पार्टीको महामन्त्री थिए । जसमा देशैभरी पार्टीको गतिविधिलाई नियाल्नुका साथै सुदृढ गर्दै लैजानु प्रमुख दायित्व थियो । त्यसैले उनको जिल्लामा उपस्थिति केही पातलो लाग्नसक्छ । त्यसका लागि मतदाता अनि कार्यकर्ताले बुझ्ने प्रयास गर्नुपर्छ भने डा. कोइरालाले पनि प्रतिनिधिको रूपमा सरल, सक्षम र कार्यकर्तामैत्री प्रतिनिधिको व्यवस्था गर्नुपर्छ ।

जिल्ला अधिवेशनमा डा. कोइराला र चौधरीले खेलेको भूमिकालाई शिक्षाका रुपमा लिँदै आसन्न स्थानीय तह निर्वाचन, संसदीय निर्वाचनमा पनि पार्टीभित्र सहमति गर्दै कार्यकर्तामाझ लोकप्रिय र विवादरहित व्यक्तिलाई उम्मेदवार बनाएको खण्डमा नेपाली कांग्रेसले अवश्य पनि राम्रो नतिजा ल्याउन सक्छ ।

हो, कार्यकर्ताहरुलाई डा. कोइरालाको जिल्ला उपस्थिति कम लाग्न सक्छ । तर बिर्सनु के हुँदैन भने, डा. कोइराला यसअघि पार्टीको महामन्त्री थिए । जसमा देशैभरी पार्टीको गतिविधिलाई नियाल्नुका साथै सुदृढ गर्दै लैजानु प्रमुख दायित्व थियो ।

नवलपुरका ८ स्थानीय तहबाट यसअघिको निर्वाचन तहमा नेपाली कांग्रेसले मिश्रित नतिजा ल्याएको थियो । गैंडाकोट नगरपालिकामा नगरप्रमुख एमालेले जितेको थियो भने उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै देवचुलीमा नगरप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको थियो भने उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै कावासोती नगरपालिकामा भने मेयर र उपमेयर दुवै एमालेले जित हात पारेको थियो । कावासोतीमा झिनो मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए । त्यस्तै मध्यविन्दु नगरपालिकाको नगरप्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसले जित हात पारेको थियो ।

४ गाउँपालिकामध्ये बौंदीकाली, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने हुप्सेकोट प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए पनि उपप्रमुखमा एमाले उम्मेदवारले जित हात पारेका थिए । गत स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्दा यदि नवलपुरमा सबै नेताहरुले जिल्ला अधिवेशनमा जस्तै एक भएर लाग्ने हो भने कांग्रेसले जित हात पार्ने देखिन्छ ।

आम निर्वाचनको आधारस्तम्भ स्थानीय निर्वाचन नै भएका कारणले नवलपुर कांग्रेसले आम निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय निर्वाचनमै उत्कृष्ट नतिजा ल्याउनुपर्ने देखिन्छ । त्यसका लागि सबैभन्दा ठूलो कुरा भनेको योग्य उम्मेदवारको छनौट गर्दै पार्टीभित्रैबाट हुने आन्तरिक गुटबन्दी, असहयोग एवं ‘बागी’ प्रवृत्तिलाई निराकरण गर्नु हो ।