नवलपुरको जनसंख्या ३ लाख ८१ हजार, कुन स्थानीय तहमा कति ?



नवलपुर । नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको जनाएको हो ।

जनगणना २०६८ अनुसार नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेकोमा राष्ट्रिय जनगणना २०७८ अनुसार ६९ हजार ५ सय १ ले जनसंख्या वृद्धि भएको हो ।

यसैगरी बुधबार सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार नवलपुरमा पुरूषको भन्दा महिलाको जनसंख्या बढी देखिन्छ।

नवलपुरमा पुरूष भन्दा २२ हजार २ सय १३ बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नवलपुरमा अहिले २ लाख १ हजार ६ सय ५९ महिला र १ लाख ७९ हजार ४४६ रहेको छ ।

जिल्लामा सबै भन्दा धेरै जनसंख्या कावासोतीमा ८७ हजार १ सय ७६ रहेको छ । कावासोतीमा ४० हजार ८ सय ९० पुरुष र ४६ हजार २ सय ८६ महिला रहेको विभागले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम जनसंख्या बौदीकाली गाउँपालीकामा रहेको छ । बौदीकालीमा ५ हजार १ सय ६४ पुरुष र ६ हजार १ सय ७५ महिला गरि ११ हजार ३ सय ३९ रहेको  विभागले जनाएको छ ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा ८४ हजार ६ सय ९५ घर, ९५ हजार ३ सय ५८ परिवार रहेको उल्लेख गरिएको छ । ८८.९८ प्रतिशत लैगिंक अनुपात रहेको जिल्लामा जनघनत्व २६७ वर्ग किमी, परिवार को आकार प्रति परिवार ४ जना र जनसंख्या वृद्धिदर १.९३ प्रतिशत रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

त्यसै गरि जिल्लाको कुल जनसंख्याको २ प्रतिशत अर्थात ४४ हजार ८ सय ७९ विदेशमा रहेका विभागद्वारा सार्वजनिक प्रारम्भिक तथ्यांकमा उल्लेख छ । प्रारम्भिक तथ्यांक  अनुसार ३७ हजार ९ सय ४२ पुरुष र ६ हजार ९ सय ३६ महिला देश बाहिर रहेका हुन ।