‘एक महिने जागिर’बाटै ‘पेन्सन’ पकाउन खोज्ने मुख्यमन्त्री !



नेपाली कांग्रेस, देशको एउटा राजनीतिक धार । नेपालको इतिहासमा बीपी कोइरालादेखि गणेशमान सिंहसमेतलाई जन्माएको पार्टी । लगभग आधा नेपालीको आस्थाको पार्टी । तर, सोही पार्टी नेपालमा गणतन्त्र स्थापनापछि बनेको संविधानअनुसार देशका सात प्रदेशमध्ये गण्डकी प्रदेशमा ‘पहिलो ब्याच’का दोस्रो मुख्यमन्त्री पाएको पार्टी ।

पछिल्ला केहीमहिना यताका नेपालका कम्युनिस्ट पार्टीभित्रको विवादका कारण ‘चिठ्ठा’ परेको मुख्यमन्त्री पदमा आसिन भए, १९/१९ वर्षसम्म जिल्ला सभापतिका रुपमा जिल्ला सम्हालेका नवलपुरका कृष्णचन्द्र नेपाली पोखरेल ।

तर, १९ वर्षसम्म जिल्लाको नेतृत्व गरेर नवलपुरलाइ कांग्रेसका लागि लगभग देशभरिकै सर्वाधिक बलियो जिल्ला बनाएका नेपालीबाट जुन अपेक्षा गरिएको त्यसलाई ‘पहिलो गासमै ढुंगा’ लगाइदिए ।

कांग्रेससमेत फरक ५ राजनीतिक आस्था भएका पार्टीको बलमा धर्ना गर्दै मुख्यमन्त्रीको पदमा बसेका नेपालीले गण्डकीबाट आगामी १ महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले आह्वान गरेको ‘बहुमत सदस्यसहित’ को दाबी पेश गरेर मुख्यमन्त्री भएका नेपाली एकल दाबी प्रस्तुत गरेतापनि धर्नामा उत्रने बाध्यता आईलागेको थियो । फलस्वरुप प्रदेश प्रमुखले नियुक्ति गरेपछि नेपालमा बिदाको दिन मानिने शनिबार नै पदभार ग्रहण गर्न पुगे ।

जनमोर्चा–२, जसपा–२ र स्वतन्त्र १ प्रदेश सभा सदस्यसँगको ‘सौदाबाजी’मा मुख्यमन्त्रीको कुर्सीमा बसेका पोखरेलले पहिलो निर्णय गरे पूर्व मुख्यमन्त्रीको सुविधाको व्यवस्था गर्ने । यसबाट नेपालीले निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई गुन लगाउन खोजेका कि आफ्नो भविष्य पक्का गर्न, त्यो अहिले नै अनुत्तरित छ ।

नेपालीले आगामी १ महिनाभित्र विश्वासको मत लिनुपर्छ । यदि सो अवधिसम्म आफूले अहिले ‘सौदाबाजी’मा ल्याएका प्रदेशसभा ‘टेढिएको’ खण्डमा के गर्ने ? आफूले प्रदेशको विकास र वर्तमान परिवेशको महामारीलाई नियन्त्रण लिने भन्दा किन ‘१ महिने’ मुख्यमन्त्रीको जागिरमा जीवनभर पेन्सनको व्यवस्था गर्ने कुचेष्टा गरे ?

आफूले समर्थन पाएको एक सांसद  यसअघिको सरकारका मन्त्री नै रहेको र डेढमहिनाभन्दा कम समयमा आफ्नो ‘कित्ता’ फेरेको पोखरेलले थाहा पाएनन् वा बुझेनन् ? नेपालीले मुख्यमन्त्रीको दाबी पेश गरेको एक रातमै ‘खिचडी’ पाक्न लागेको नेपालमा एक महिनासम्म यही राजनीतिक माहौल रहन्छ भन्नेमा कमैमात्रलाई विश्वास होला । त्यसको ज्वलन्त उदाहरण उनको मुख्यमन्त्रीको दाबीपछि निवर्तमान मुख्यमन्त्रीले पनि दाबी गरेको ‘बजारहल्ला’ पनि एक हो ।

करिब ६ महिनाभित्रै निर्वाचनको घोषणा भइसकेको अवस्थामा पटक–पटक देशको शासन सत्ता सम्हालेको नेपाली कांग्रेसका अनुभवी एवं सादगी नेताले नियुक्ति भएको २४ घन्टा नबित्दै गरेको ‘म मैत्री’ निर्णयलाई जनताले कुन रुपमा लिन्छन् होला ? त्यसको हेक्का छ कि छैन ?

निर्वाचनमा संघारमा उभिइसकेको यस परिवेशमा नेपालीले आफ्नो भविष्य सोच्ने भन्दा पनि निर्वाचनमुखी काम गर्ने अभियान चलाउनु उपयुक्त हुन्थ्यो । यदि निर्धारित मितिमै निर्वाचन हुने अवस्था आयो भने नेपालीको यस निर्णयले गण्डकी प्रदेशमा पार्टीले कस्तो परिणाम ल्याउला ? कल्पना नै काफी छ ।

१९ वर्ष जिल्लाको बागडोर सम्हाल्दा तेस्रो प्रयासमा मात्र संसद छिर्ने अवसर पाएका नेपालीलाई अब फेरि केन्द्र एवं संघीय संसद् छिर्ने आशा नभएर हो वा ‘पाएको बेला गरिहालूँ’ भन्ने सोचाई आएर हो ? त्यसको जवाफ उनैसँग होला ।