सडकपेटीमा मकै पोलेर जम्मा गर्नेहरूको बचत कहिले फिर्ता पाईन्छ ?



काठमाडाैं । मन्त्री ज्यु ! बाबु-आमा गरिब भएर पढ्न पाईन मैले। त्यसैले मुलुकी ऐनमा कहाँ के लेखिएको छ अनि संविधानको कुन धारामा के छ जानेकी छैन तर मन्त्रीज्यु, कानुन नबुझेर नजानेर गल्ती गरें भन्न पाईन्छ र ? कानुनमै भनिएको छ रे कानुन जानिनँ भन्न नपाईने व्यवस्था । अनि कानुन नजाने पनि, नपढे पनि गलत गर्ने र कानुन मिच्नेहरू र तिनीहरूलाई सहयोग गर्नेलाई हदैसम्मको सजाय र कारवाही हुनुपर्छ भन्नेचाहिँ थाहा छ।

कृपया गरेर गाउँमा बस्न सक्ने वातावरण नभएर काठमाडौं छिरेका सडकमा नगरप्रहरीको आँखा छल्दै ठेलामा मकै पोलेर गुजारा गरेकी कि म जस्ताको बचत सुरक्षित हुने वातावरण र दु:ख गरेर सहकारीमा राखेको रकम विभिन्न नाममा हिनामिना गर्ने दर्जनौ जिबी राईहरू र उनलाई साथ सहयोग गर्ने मतियारहरूलाई कारवाही गर्नुहोस् । पीडितहरुको उद्धार गर्ने ठाउँमा हुनुहुन्छ, तपाईंसँग केही अपेक्षा अवश्य नै छ, हामीलाई निराश नबनाउनुहोला ।

महानगरको प्रहरीले कयौंपटक उनको ठेला लग्यो। झरी बतासले उनलाई कैयनपटक थिला-थिला हुने गरि कुट्यो तर पनि सानो दुधे बच्चालाई काखीमा च्यापेर सडकमा मकै पोल्न उन्ले छोडिनन् ।

साहारा र विकल्प पनि त थिएन उनीसँग । सानैमा बाबु-आमाको दवावमा गाँउकै युवकसँग विवाह गरेकी उनी १७ वर्षकै उमेरमा आमा बनिन् । कलिलै उमेरमा आमा बनेकी उनलाई उन्का श्रीमान् सुखद भविष्यकै कल्पनामा विदेशिएपछि अनेक खाले परिस्थितिले काठमाडौंसम्म ल्यायो।

उनका काठमाडौंका दिनहरू हन्डरै-हन्डरमा वित्यो र पनि हार मानिनन्। कहिले गलत बाटो हिँडिनन्। बरू सानो बच्चालाई  माईती घरमा छोडेर बिदेश जाने सोच भने बनाईन्। तर कम पढाई बढी लागत र बिदेशमा हुनेका दु:ख सुनेर उनि बरू यहीं ठेलामै भए पनि पेशा गर्छु भनेर  लागिन्। ठेलामा सामान हालेर कहिले यो चोक कहिले अर्को चोक गर्न कहॉ सजिलो हुन्छ र ? घामपानी सडकको धुलो धुवाँ त यसै पनि समस्या हुने नै भए त्यसमाथी बस, माइक्रोदेखि साईकलवालासम्मको हेपाई कहिले ठेलाको टायर पन्चर भएर हुने सास्ती कहिले काठमाडौंका सडकका खाल्टा-खुल्टीमा ठेला फसेर हुने दु:ख भनि साध्यै र बताई साध्य थिएन उन्लाई । काखको बच्चा त ऑफ्नो  मुटुको टुक्रा भै हाल्यो जति नै दु:खै भए पनि छोड्न सक्ने कुरा नै भएन्।

सहरका धनीहरू मंहगो रक्सी किन्दा होस् या लाखौं पर्ने एक तोला सुन किन्दा बार्गेनिङ गर्दिनन् तर सडक छेउमा दुख जिलो गरेर बस्ने उनि जस्तासँग भने एक-एक रूपैँया घटाउन नानाथरी कुरा गर्छन्। यस्ता अवस्था त उन्लाई कति आयो कति उनले फेरेका कपडा भन्दा उनले पाएका हन्डरको गन्ती बढि छ उनको जिन्दगीमा । कपडा त बर्षमा एक दुईपटक हो समस्या त हरेक दिन आए।

उनका उमेरका उनि जत्तिकै रूपरंग भएकाहरू अनेक पेशा व्यबसाय गरेर उन्कै अगाडी साईकल स्कुटर हुदै कार सम्म चढ्ने बनेको पनि उनले त्यही ठेलाको व्यापार गर्दै गर्दा नदेखेकी होईनन् तर उनलाई अरूको कमाई, लवाई, खवाई र जीवनस्तरप्रति कहिल्यै ध्यान गएन र लोभ पनि भएन। उन्लाई त केवल दिनमा कतिवटा मकैका घोंगा बिक्छन् र आँफुसहित आँफ्नो काखे बच्चाको लागी सन्तोषको छाक टर्छ र सय रूपैँया नै किन नहोस बचत गर्न पाए हुन्छ भन्नेमै ध्यान केन्द्रित थियो।

एक दिन सर्ट पाईन्ट लगाएकी गोरी चिटिक्क परेकी ऑफ्नै उमेरको युवती हातमा डटपेन खेलाउँदै आएर एउटा मकै पोलि दिनुस् न दिदी भनिन्। मकैं पोल्दै गर्दा दुई जनाबीच चिनजान र पैसा बचत गर्नेसम्मको कुरा पनि भयो। उनलाई ती युवतीका कुरा सहि पनि लागे, उन्को मिठो कुरा र केहि बचत गर्ने उन्को रहरले गर्दा तिनै युवतीले काम गर्ने सहकारीमा हरेक दिन एक दुई सय बचत गर्ने गरि उनि राजी भईन् । हुनपनि उनलाई केहि कमाएको रकम घरमा राख्नुभन्दा छेउकै सहकारीमा राख्दा ठीकै भएको थियो । भनेको बेलामा निकाल्ने र राख्न घर व्यवहार चलाउन सर-सापट लिनदिन सहज हुँदै गएको थियो।

अहिले उन्को जीवन पुरै फेरिएको छ यतिसम्म कि काठमाडौंको चर्को कोठा भाडा तिर्न त के साँझ-विहान खान र छेउमै रहेको सरकारी स्कुलमा पढेकी छोरीको लागी खाजा पानी किन्न पनि नसक्ने हैसियत उनि पुगेकी छिन्। आजको दिनमा न त उनि सडकमा ठेला व्यापार गर्न सकेकी छिन् न त विदेश गएर दुईचार हजार कमाउन सक्ने हैसियतमा छिन्। उनको लागी अहिलेको जीवन एकदम अन्धकार जस्तो र कुनै बाटो नपाएको कुहिरोको काग जस्तो भएको छ।

सधै चिट्टिक परेर आउने युवती अचानक आउन छोडिन्, उनलाई लाग्यो कतै बिरामी परेर पो आईन्न कि ? ठीकै छ एक दुई दिन कुर्छु । दुई दिन, तीन दिन, उनले हप्ता दिन बढि कुरिन्, ती सहकारीकी युवती आईनन्। अनि उनले फोन गरिन युवतीको फोन नम्बर स्वीच अफ भन्यो । केहि भयो कि ? कि ठुलै दुर्घटनामा पो परिछन् कि ? भनेर बुझ्न उनि एकदिन उनले रकम जम्मा गरेको सहकारीमा पुगिन् अनि पो बल्ल उनलाई थाहा भयो, उनले सडकमा दु:ख गरेर विश्वासले रकम जम्मा गरेको सहकारी त भित्रभित्रै टाट पल्टिएर उन्को बचत समेत फिर्ता दिन नसक्ने अबस्थामा पुगेको रहेछ। उनि जस्तै दु:ख गरेर ५००/१००० जम्मा पारेकाहरू सयौंजना पीडित भइसकेका रहेछन्।

आजका दिनमा अन्जना जस्ता धेरै जनाको दैनिकी नै भताभुङ्ग  भएको छ। कतिको त श्रीमानले बिदेशमा दु:ख गरेर कमाएको पैसा सहकारीले खाईदिँदा घरयासी झगडा परेर सम्बन्धमा नै ठुलो दरार पैदा भएको छ । ट्याक्सी चलाएर, रिक्सा तानेर होस् या सडकपेटीमा नाङ्ले पसल गरेर अलिअलि बचत गरेको रकम डुबेका अन्जना जस्ता हजारौं पिडितहरु छन्।

अन्जना र उनि जस्ता पिडितहरु भन्छन्, “के गरौं यत्ति दु:ख गरेर बचत गरेको पैसा आउने नआउने कुनै टुङ्गो नै छैन। आज सारा सपना तुहिएर के गरौं, कसो गरौं भएको छ। सहकारीमा समस्या निम्त्याउनेहरू सबै ठुलाबडा र पावरमा पुगेका छन् । उनिहरूले हामी जस्ता सडकका मानिसहरूको करोडौं रकम ठगेर मोजमस्ती गरेर बसेका छन्, हामी भने साँझ विहानको छाक टार्नै मुस्किलमा छौं।”

उनी एउटा प्रतिनिधि पात्र र घटना भयो सहकारीको को कारण घर व्यवहार अनि व्यबसाय चौपट हुनेको कथा लेख्ने हो भने त एउटा महाकाव्य नै नै तयार हुनसक्छ। अब को बोल्ने? कस्ले समस्या समाधान गर्ने त यस्को ? अनि यस्ता ठगहरूलाई विभिन्न तौर तरिकाबाट साथ सहयोग दिनेलाई कसरी कानुनी दायरामा ल्याउने त ? कोहो त यस्को जिम्मेवार ? कि जसो तसो ठुलो पदमा पुग्ने मिठो बोल्ने र चोखिने मात्र हो त समाधान ?

अनि कस्लाई विश्वास गर्ने अब कि सतीले श्राप दिएको देश हो भनेर चित्त बुझाएर बस्ने त पिडितहरू ?

नवनेपाल डटकमका आरजी पाण्डेले सहकारीपीडित सिन्धुपाल्चोककी अन्जना थापा (नाम परिवर्तन) सँग गरेको कुराकानीमा आधारित।