प्रिय शालीन, हामीलाई माफ गर ल !



प्रिय शालीन !

आज नारी दिवस । तिमी पनि एक नारी, जो यस संसारमा फुल्न कोशिस गरिरहेकी फूल जस्तै थियौ, तर एकाएक तिम्रो कठोर निर्णयले अहिले यत्ति लेख्न विवश भएको छु । सहर बजारका स्टार होटलका सभाहलहरुमा नारीको हक हितका कुरा उठि रहेका होलान्, तर पढ्नकै लागि होस्टेलको कोठामा बसेर तिमीले गरेको कठोर निर्णयको साक्षी बन्नु परेको छ ।

माफ गर । तिमी खुसीले जीउन सक्ने समाजको निर्माण गर्न नसकेकोमा म पनि तिम्रो यो हत्याको जिम्मेवार छु र तिमीसँग माफी चाहान्छु । यो तिम्रो स्वाभाविक मृत्यु पक्कै थिएन र होइन । यो त तिमीलाई हामीहरू सबै मिलेर जीउन नसक्ने गराउनुको दुःखद् परिणाम थियो र त तिमी सदा-सदाको लागी शालीन रूपमा रहन बाध्य भयौ । अनि यस्लाई मैले तिम्रो आत्महत्या नसोचेर हामी सबै मिलेर योजनाबद्ध रूपमा गरेको हत्या भनेर बुझ्छु ।

प्रिय छोरी, (छोरीको उमेर भएर छोरी भनेर सम्बोधन गरिएको) कति दुःख भयो होला तिमीलाई सास जान ? कति दुख्यो होला तिमीलाई त्यो तिम्रो घाँटीमा लगाएको पासोले ? कति तड्पियौ होला तिमी त्यो बेला ? तिमीलाई भोक लाग्दा तिमीलाई तिर्खा लाग्दा तिमीलाई कस्तो छ भनेर सोध्ने तिम्रो आमा र बाबा साथ नहुँदा,  स्कुलका हरेक रमाईलोदेखि दुःखहरूमा तिमीलाई सम्झाउने सिकाउने साथ दिने र अंगालो हाल्ने बाबा आमा नहुँदा तिमीलाई त्यो तिम्रो बाल मस्तिष्कमा कति चोट परेको थियो होला ? कति दुःख भयो होला तिमीलाई यस्तो निर्णय गर्न ? कति धेरै पीडामा पल-पल मरेर अब त सक्दिन भनेर त्यो कोमल मस्तिष्कले हार खाएरै सधैंलाई शालीन हुन्छु भनेर निर्णय गर्यौ होला ? प्रिय शालीन जति माफी मागे पनि हामी सबै यो तिम्रो हत्याको जिम्मेवारीबाट टाढा हुन सक्दैनौ र पाँउदैनौं । हामी सबै तिम्रो यो अवसानको कहीं न कहीं जिम्मेवार छौं ।

ढिलो गरि आएको पोस्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानलाई विश्वास नगर्नु पर्ने कुनै कारण देखिदैन् । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भनेर आए पनि शालीनको मृत्यु हामी सबै मिलेर उनको बाल मस्तिष्कमा पासो लगाई दिएका कारण भएको हो । तसर्थ यो आत्महत्याभन्दा पनि गैर जिम्मेवारहरूको समुह मिलेर गरेको क्रुर हत्या नै हो। यस्तो हत्या समाजमा पटक-पटक भई नै रहेको छ तर हामी अझै पनि जिम्मेवार बन्न सकेका छैनौं र जिम्मेवारी लिन पनि चहान्नौं ।

खासमा शालीन पोखरेल हत्याको जिम्मेवार बर्षौंदेखि यो देशलाई यस्तो चरम बेथितिमा लैजाने अयोग्य नेता र तिनका झोले कार्यकर्ता, विगतदेखि वर्तमानसम्मको सरकार, जो पटक-पटक सत्ता र शक्तिमा रहेर पनि यो देशलाई दुर्गतिमा मात्र धकेले, तिनिहरू पनि हुन् । यस्तैहरूले सृजना गरेको बेथितिका कारण उनकी आमाले नेपालमै रोजगार पाउन नसकेर विदेशिन बाध्य हुनु पर्यो । यदि नेपालमै उनको आमा रहेको भए सायद आमासँगै बस्न पाउने थिईन् र यो घटना नहुन सक्थ्यो । यो घटनाको जिम्मेवार यो हाम्रो बिग्रँदो सामाजिक सोच बिचार र हाम्रो सामाजिक संरचना पनि हो ।

बिचरी शालीनलाई कतिले यस्को त बा-आमा पनि सँगै छैनन्, अझ कतिले त यस्को आमाले त कतै नपाएर विदेशमा घरजम गरेर बसेकी छे रे, कतिले यस्को बाले त अर्की ल्याएर बसेको छ रे, यस्लाई त हेर्दैन रे, भनेर उनको बाल मस्तिष्कलाई पटक-पटक पीडा दिइरहे । अझ यो घटनाको दोषी उनको परिवारका अन्य सदस्य र विशेष गरेर उनका बाबा जस्ले छोरीलाई माया दिनु हेरचाह गर्नु खासै आँफ्नो जिम्मेवारी ठानेनन् र तीन बर्षको उमेरमै छोडेर अरूनै महिलासँग रमाएर बस्न थाले । उनको बाबाले जति मिहेनेत अहिले उनको मृत्युपछि न्याय चाहियो भन्दै हिँडेका छन्, त्यस्को सानो अंश मिहनेत शालीनको हेरचाह गर्नलाई गरेको भए आज यो दिन हामीले सुन्नु पर्दैनथ्यो, अनि उनका बुवाले भोग्नु । र, यो असह्य पीडामा उनलाई बस्नु पर्ने थिएन । अनि पर्ने थिए आर्यघाटको सलोमा चीरनिद्रामा रहेकी शालिनलाई दागबत्ती दिन ।

त्यस्तै यो शालिनको कठोर निर्णयबाट अछुतो रहन उनलाई जन्म दिने आमा त हुनै पाउँदिनन् । घटनाको मुख्य जिम्मेवार उनकी आमा पनि हुन्, जस्ले एउटा गैर जिम्मेवार पुरूषले धोका दियो भन्दैमा छोरीको माया र साथ भन्दा अर्को पुरुषसँग सम्बन्ध विस्तार गरेर आफ्नो खुशीमात्र खोजिन् । उनको आमाको यो कार्य पनि पक्कै शालीनको बालमस्तिष्कलाई पीडा दिने कारक बन्यो । यदि उनका जन्म दिने आमाबाबा यति गैर जिम्मेवार नबनिदिएको भए आज शालीन यस्तो निर्णयसम्म पुग्ने थिइनन् पक्कै पनि ।

साथै यो घटनामा ठुलो दोषी हाम्रो देशको शिक्षा प्रणाली, शालीनले पढेको स्कुल र व्यवस्थापन, उनको मनोभावना नबुझ्ने स्कुलका शिक्षक–शिक्षिका र उनका साथी संगीहरूका साथै समग्र समाज पनि हो । जसले उनलाई कहिल्यै बुझ्न कोशिस गरेनन् । उनको पीडा खोज्न सकेनन्, अनि पीडामा मलम लगाउन पनि । खास भन्ने हो भने यो र यस्ता खाले जिम्मेवारीबाट कोही पनि उम्कन मिल्दैन। यो घटनाको जिम्मेवार तपाई हामी सबै पनि हौं ताकि हामी सबैले असल समाजको निर्माण गर्न सकेनौं। शालीनजस्ता बालबच्चाहरू सहज रूपमा खेल्न, डुल्न पढ्न र जीउनसक्ने योग्य समाज बनाउन हामी सबै चुकेका छौं। यस अर्थमा हामी सबै शालीन पोखरेलको हत्याको जिम्मेवार ठहरिन्छौं । हामी सबै सम्बन्धित पक्षले एउटी १४ वर्षीया बालिकालाई उस्ले आत्महत्या गरेको हो भनेर उम्कन मिल्दैन । यो त सबै मिलेर उनको घाँटीमा डोरी लगाई दिएका हौं ।

अब शालीन सधैंलाई शालीन रूपमै रहने छिन् तर उनले एउटा सामाजिक बहस र असल समाज निर्माणको क्रान्ति आवश्यक छ है भन्ने सिकाएर गएकी छिन् । जुन बुझ्ने या नबुझ्ने हामी सबै सम्बन्धित पक्षहरूको कुरा हो ।

अन्त्यमा, अब यो र यस्ता खाले घटनामा सम्बन्धित सबैलाई जिम्मेवार गराएर उचित सजाय नदिने र जिम्मेवार गराएर योजनाबद्ध रूपमा अघि नबढ्ने हो भने यो समाजमा अझै पनि धेरै शालीनहरू शालीन मुद्रामा सधैंका लागी हराउन बाध्य हुनेछन् ।