ब्रेकअपवालीलाई चिठी !



काली !

आज धेरैपछि तिम्रा लागी कम्प्युटरका किबोर्डमा औंला सल्बलाए । आज औंला पनि खुशीले छिट्टै सर्दैछन्, सायद तिम्रा लागि दुई अक्षर लेख्न पाएर होला । यी औंलाहरु अनौठो मान्दै होलान् । मनलाई त खासै अनौठो लागेन होला किनकी मनमा त जहिले तिमी नै तिमी हुन्छौ ।

सुरु कहाँबाट गरुँ ? थाहा छैन कसरी यी अक्षरहरुका आकृति बनाउँ ? प्रत्येक अक्षरमा तिमीलाई देख्ने मैले यी अवोध किबोर्डका अक्षरहरुमा कुन चाहिँमा म नडुलाऔं औंला? बिहान हाम्रो थियो, त्यसैले त कलेजका कक्षामा हामी नै हामीहरु हुन्थ्यौं, अनि चिया पसलमा हामी नै हामी । अनि सायद दिन पनि हाम्रै थियो, कार्यथलो एउटै ।

हामीलाई नजिक बनाउने काम त हाम्रो कार्यथलोले पनि गरे जस्तो लाग्यो, जुन दिन तिमी आयौ त्यो दिन तिम्रो लागी बस्ने ठाउँको व्यवस्था नहुँदा मै बसेको कुर्सी सेयर गरेका थियौं । सम्झँदा अनौठो लाग्छ, अचम्म लाग्छ, कार्यालयमा कुर्सी सेयर गरियो। थाहा छैन त्यो, अवसर थियो वा बाध्यता अथवा आत्मियता । पहिलो दिनमा नै नजिक हुन पाउनु अवसर अनि परिस्थिति । पढ्नेहरूले यस्तो वाहियात कुरा नि हुन्छ ? कतै कुर्सी पनि शेयर हुन्छ र? भन्लान् तर त्यसको वास्तविकता पढ्नेलाई होइन तिमी अनि मलाई थाहा छ, कुरा के हो भन्ने ? मर्निङ सोज् डे, भने झैं पहिलो दिनदेखि नै परिवेश हाम्रो पक्षमा थियो ।

दिनहरु कसरी बित्थे थाहा छैन, पत्तै नभई साँझ पर्थ्यो । अनि लामो लाग्थ्यो जहिले पनि रात । जहिले १५ पुसको रात जस्तो अँध्यारो अनि निस्पट्ट लामो । कैयौं चोटी किप्याड थिचे पनि मोबाइलले १०/१५ मिनेटभन्दा अन्तरको समय देखाउँथेन, केबल प्रतिक्षा बिहानको । अनि बिहान शनिबार बाहेकको सेम रुटिङ । कहिलेकाहिँ लाग्थ्यो शनिबार पनि किन आउँथ्यो भन्ने? केबल तिमीसँगको चियाको चुस्की अनि तिम्रो माधुर्यता, चञ्चलता, स्पष्टता अनि प्रत्येक चालचलनको दर्शक बन्न।

हामी छिटै यति नजिकिएका थियौं कि, लाग्थ्यो कहिलेकाहिँ यो धेरै भईरहेछ कि भन्ने । किनकी मेरो प्रत्येक कुराको अपडेट तिमीलाई चाहिन्थ्यो, अनि मलाई तिम्रो । यतिसम्म त ठिकै थियो, हाम्रो समिपताको अर्को मापक बनेको थियो हाम्रो परिवार । तिम्रो परिवारको प्रत्येक कुरा मलाई थाहा हुनुपर्थ्यो, अनि मेरो तिमीलाई । सायद हामीमा धैरै कुराको अन्तर थिएन, केबल नारी अनि पुरुष हुनुबाहेक । उस्तै हाम्रो जन्म, अनि बढाई अनि गराई पनि । अनि त्यो भन्दा हाम्रो सोचाई अनि परिस्थिति । हामी चाहेर मात्र नजिक भएको भन्दा पनि परिस्थिति नै त्यस्तै पर्न गयो होला सायद । यही होला लेखेको भन्ने ।

हुन त तिमी राजधानीमै जन्मी हुर्केकी एक्ली छोरी थियौ, एक्ली आमाकी । जसले तिमीलाई अनेक बाधा अड्चनका बीच पनि दुई अक्षर फुटाउन सक्ने अनि आफ्नै बुतामा दुई छाक जोड्न सक्ने बनाउनुभएको थियो । दुःख के हो मलाई थाहा थिएन, जति तिमी अनि तिम्री आमाले भोग्नु भएको थियो । सुन्थें तिम्रा विगत, रसाउँथ्यो मेरा आँखा, अनि पुछिदिन्थ्यौ ती कोमल हातले । अनि कल्पना गर्थें तिमीलाई छोरी भनेर माया गर्नुपर्ने पुरुष पात्रको, जो ‘परी’ जस्ती छोरीसँग पनि ‘पर’ भएर बसेका थिए ।

लाग्दो हो, अहिले आएर लेखेर हुन्छ र भन्ने ? हो, लेखेर हुँदैन, लेखेको हुँदोरहेछ जीन्दगीमा । त्यसैले भावीले लेख्नुपर्ने ठाउँमा हामी आँफूले लेख्न खोजियो । कमजोरी हाम्रो थियो या भावीको ? थाहा भएन । दोष लगाउने भाग्य, अनि जस पाउने कर्म । दुवै हाम्रो पक्षमा थिएन।

भगवान्लाई रिझाउन सक्ने थियौ तिमी, त्यसैले तिमीमा निडरता अनि आत्मनिर्भरता भरिदिएका थिए । संघर्ष कति गर्यौ, मलाई भन्नु पर्ने जरुरी थिएन । प्रत्येक छाकको लागि संघर्ष, प्रत्येक पाइला चाल्नका लागि संघर्ष, अनि निदाउनका लागि संघर्ष, अनि बिरामी आमाको लागि औषधीको जोहो गर्ने संघर्ष । संघर्ष अनि तिमी पर्याय बनिसकेका थियौ जस्तो लाग्छ मलाई । तिम्रा प्रत्येक हेराइले केही खोजी रहेका हुन्थे, प्रत्येक पाइला गन्तव्यको खोजीमा लम्किइरहेका हुन्थे अनि प्रत्येक बोलाईमा संघर्ष प्रतिबिम्बित । परिवारबाट पाउनुपर्ने कुराको अधिकारभन्दा पनि परिवारलाई गर्नुपर्ने दायित्वबाट कत्ति पनि विमुख थिइनौ तिमी । जन्म दिनेले नै कर्म दिनुपर्ने परिवेशमा हुर्केको म, जन्म दिनेलाई नै सम्हालिइरहेकी थियौ तिमी, त्यसैले ममा पनि आत्मविश्वास भरिएको थियो, संगत जोसँग गर्छु, राम्रैसँग गर्छु भन्नेमा । कर्तव्यबाट विमुख भएकालाई राम्रो पाठ पढाएकी थियौ, आफ्नो दायित्व पूरा गरेर । सायद यही नै थियो कारण, तिम्रो प्रत्येक पाइलामा साथ दिन सकुँ भन्ने भावना ममा जागृत हुनु । अधिकार खोज्नेले कर्तव्य पूरा गर्न पनि जान्नुपर्छ भन्नेमा तिमी पूर्ण थियौ, अधिकार पायौ पाइनौ, तर कर्तव्यबाट किञ्चित पनि विमुख भइनौ, त्यो नै मेरो लागी जीवनमा सबैभन्दा ठूलो शिक्षा बन्यो ।

राजधानीमा जन्मे हुर्केकाले सबैभन्दा बढी भन्ने शब्द मम्मी । हो, त्यही मम्मी भनेर गरिने सम्बोधनलाई तिमीले ‘आमा’ भनेर गर्थ्यौ । यसैबाट मैले बुझेको थिएँ, मातृत्वप्रतिको भावना अनि ‘आमा’ शब्दको गहनता ।

राजधानी बाहिरबाट कलेज पढ्न छिरेको म । रहरभन्दा पनि बाध्यतामा अल्झिएको थिएँ । त्यसैले कम्प्युटरका किबोर्डमा गिटी कुट्न थालेको थिएँ । यसैले हातमुख जोड्छ कि आशाले । आमाले पकाएको खानलाई दशैं कुर्नुपर्थ्यो, आफूले पकाउन साँझ ९ बज्न । त्यही पनि नोकिया ६६ सयमा टुडुङ गरेर म्यासेज नआएमात्र ।

दिनहरु यसरी बिते कि, खाल्डो सेरोफेरोका डाँडाहरु हाम्रै लागि बनेका थिए । अनि राजधानीका हलमा हाम्रै लागि फिल्महरु साता-सातामा चेन्ज भइराखेका हुन्थे । सम्झेकी छौ कि छैनौ, तिमी पछि, अनि अघि म बसेर हाम्रो बाइकलाई ट्याक्टरले तानेर गन्तव्यसम्म पुर्याएको ? यी र यस्ता सबै लेखेर फेरी आफ्नो विचलित मनलाई सम्हाल्न सक्ने क्षमता छैन मेरो, त्यसैले सबै उल्लेख नगर्दै राम्रो ।

दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो अनि बिते केही वर्ष पनि । लाग्यो तिमी सक्छौ, तन भन्छ बाहिर जाउ, मन भन्छ नजाउ । तर, मनलाई तनले जितेरै छाड्यो । दुःख लाग्यो त्यो दिन, जुन दिन तिमी चन्द्रमा छुनका लागि पहिलो पाइलो चालेकी थियौ । तर त्यो भन्दा धेरै खुशी । भनेकी थियौ, ‘अब त काम सकियो भन्ने ठान्नु भो, ??? तर अब त झन् अझै धेरै बाँकी छ ।’ लाग्यो, गलत भन्यौ कि भन्ने, थाहा पाएँ तिमी सही रहिछौ ।

गयौ तिमी, एक्लिएँ म । तर, छाडेन पछ्याउन तिम्रा यादहरुले। यहाँ हुँदासम्मको साथ परिस्कृत हुँदै मायातिर ढल्के जस्तो लाग्यो । नजिक हुँदा त वास्तै लाग्दैनथ्यो, खै किन हो कुन्नी, अब त प्रत्येक पल तिम्रै कल्पनामा बित्थे । एक मन लाग्थ्यो, जीवन सकियो, तर अर्को मन झन् बलियो भएर लाग्थ्यो, अब पो बल्ल सुरु भयो । तिमी गएपछि झन् जीवन सँगै बिताउने कुराहरु आउन थाले, सपनाहरु देख्न थालियो । घर बने मायाका । परिवार जुटे अनि छुटे कति, छाडियो गन्न अनि भन्न पनि । तर, सपना भनेको निदाउँदा देख्ने कुरा रहेछ, सायद त्यसैले त्यो ब्यूँझाइसँगै हराउँदो रहेछ । भयो त्यस्तै हाम्रो पनि ।

ए ! साँच्ची तिम्रो एउटा बानी मलाई पटक्कै मन पर्दैनथ्यो, नेपालीभन्दा अंग्रेजी पढ्न, लेख्न अनि बोल्न रुचाउने। आँफू त आफ्नो पूरा नाम लेख्दा अंग्रेजीमा ४ कक्षा पास गरेको थिएँ, त्यसैले पढ्न मजा नेपाली नै लाग्छ, अनि लेख्न पनि । लाग्छ, माथिका अक्षर, शब्द अनि वाक्य हेर्दा पनि हेर्दिनौ, तर विश्वास छ, पहिलो प्याराग्राफ पढ्यौ भने छाड्ने छैनौ अन्तिमसम्म पनि किनकी मेरा शब्द र प्रत्येक बोलीहरु तिमीलाई झर्को र टर्रो लाग्दैनथ्यो कुनैबेला ।

तिमीले बुझेको परिवारले तिमीलाई बुझेन । अनि हामीले बुझेको समाजले हामीलाई बुझेन । त्यसैले तिमी गएपछिका दिनहरु मेरा लागी सम्झनाका तरेलीहरु मात्र बनेर बसे, सायद तिमीलाई पनि । कति रात बेसुरमा मोबाइलको टुडुङ कुरेर काटें, कैयौं बिहान कलेजका भित्ता हेरेर टोलाएँ, अनि कैयौं दिन चिया पसलको बाटो हिँड्नै मन लागेन, अनि कैयौं दिन अफिसको कुर्सीमा एक्लै बसेर बिताएँ । सम्झनाका लागि धेरै केही गर्नुपर्ने होइन रहेछ, यदि हुन्थ्यो भने २/४ मिनेट एउटै कुर्सीमा बसेको अहिलेसम्म किन यति धेरै सम्झिइन्थ्यो होला र ?

लाग्दो हो, अहिले आएर लेखेर हुन्छ र भन्ने ? हो, लेखेर हुँदैन, लेखेको हुँदोरहेछ जीन्दगीमा । त्यसैले भावीले लेख्नुपर्ने ठाउँमा हामी आँफूले लेख्न खोजियो । कमजोरी हाम्रो थियो या भावीको ? थाहा भएन । दोष लगाउने भाग्य, अनि जस पाउने कर्म । दुवै हाम्रो पक्षमा थिएन। तिमी त संघर्षमा हुर्कैकि सायद, मैले भन्दा तिमीले नै दुःख सहन सक्ने भएर होला हाम्रो सम्बन्धमा पनि दुःख मैले नै तिमीलाई थुपरें । म पनि खुशी थिएँ भन्ने तिमीलाई लाग्यो भने तिमी पहिलोपटक गलत हुनेछौ, त्यस्तो पटक्कै होइन । सम्बन्ध भन्ने कुरा बिट मार्ने चाहिँ नहुँदोहोला, सायद, हामीमा ग्याप भएको होला अनि हाम्रो सम्बन्धमा पनि । सुनिन्छ मान्छे सुख खोज्ने चाहनामा खुशीलाई तिलाञ्जली दिन थाल्छ भन्ने, सायद हामीमा त्यही भयो कि? तर, सुखभन्दा खुशी खोज्ने ममा पनि धैर्यताको कमी भयो । तर, त्यो खुशी मेरो लागिभन्दा पनि परिवारका लागि जहिले पहिलो प्राथमिकतामा पर्यो । आफ्नो खुशीलाई भन्दा नजिक परिवार थियो त्यसैले त्यसमै म गएँछु ।

परिवारको एक्लो छोरो म, तिमी छोरी । हामीमा कर्तव्यसँगै दायित्व पनि समान थियो । दुई समाज अनि दुई परिवारका लागि बाधक नबनियोस्, त्यसैले आफ्नो मनलाई बाँध्न बाध्य भइयो । भइयो भन्दा पनि भएँ भन्ने जस्तो लाग्छ मलाई । तिम्रो विदेशी भूमिमा संघर्ष अनि मेरो यहाँ संघर्ष । हामी संघर्ष नै गरिरहेका थियौं, फरक ठाउँमा, फरक प्रकारको तर समान उद्देश्यका लागि । जति तिमी संघर्षमा सफल भयौ, मैले साथ दिन सकिन । स्वीकार्छु गल्ती । जित्यौ तिमीले, हारें म, तर नतिजा भोग्यौं दुवैले ।

समय बित्दै गयो भन्दा पनि बितायौं हामीले आ-आफ्नो तरिकाले । तिमी थियौ आधा विश्वको सपना बन्ने गरेको ठाउँमा, अनि म आफैं सपना देख्न थालेको ठाउँमा । भन्थे, जीवनमा गल्ती हजार हुन्छन् भनी, तर आज आफ्नो एउटै गल्तीको सजायँ भोगेको छु । पछुताउनु पर्ने त कुनै कुरा देख्दिनँ, जसरी जीवन चलेको छ, यसमै खुशी छु अनि हुनु पनि पर्छ । मन त असन्तोषी हो, सुनमा सुगन्ध भए राम्रो हो, तर विश्वस्त छु, सुन आफैंमा मात्र पनि नराम्रो चाहिँ होइन । तर, दुःख सहन बानी परेको मन यति बिघ्न कठोर हुँदो रहेछ, अहिले मात्रै थाहा भएको छ । धेरै पछि आज खुशी भएँ, जब काटीकुटी तिम्रै अनुहार लिएर यस संसारमा आएकी उत्तराधिकारी देखें । मन चंगा भो, धेरैपछि फेरि तिम्रा सम्झनाका प्रत्येक पल सम्झन बाध्य भएँ । अब मनमा खासै ठूलो चाह छैन, शिवाय तिमी अनि तिम्रासँग एकपटक भेट्नेबाहेक । भाग्यमानी तिमी अनि तिम्राभन्दा पनि म हुँला सायद, यति खुशी अनि सुखी अनुहार देख्न पाउनु ।केबल मेरो प्रार्थना छ मात्र भगवान्सँग, तिमीलाई सुखीभन्दा खुशी भएको देख्न पाउँ ।

ए ! साँच्ची तिम्रो एउटा बानी मलाई पटक्कै मन पर्दैनथ्यो, नेपालीभन्दा अंग्रेजी पढ्न, लेख्न अनि बोल्न रुचाउने। आँफू त आफ्नो पूरा नाम लेख्दा अंग्रेजीमा ४ कक्षा पास गरेको थिएँ, त्यसैले पढ्न मजा नेपाली नै लाग्छ, अनि लेख्न पनि । लाग्छ, माथिका अक्षर, शब्द अनि वाक्य हेर्दा पनि हेर्दिनौ, तर विश्वास छ, पहिलो प्याराग्राफ पढ्यौ भने छाड्ने छैनौ अन्तिमसम्म पनि किनकी मेरा शब्द र प्रत्येक बोलीहरु तिमीलाई झर्को र टर्रो लाग्दैनथ्यो कुनैबेला ।

तिम्रो उही