प्रचण्ड र सिरोहियाका २ भोजः सार्वजनिक जीवनमा ‘क्रान्तिकारी’ र ‘चुसाहा’ प्रवृत्ति, निजीमा ‘राजठाँट’ !



यस हप्ता आफूलाई जनवादी तथा साम्यवादी नेता ठान्ने प्रधानमन्त्री प्रचण्ड उर्फ पुष्पकमल दाहालको नातिनी र आफूलाई  समाजवादी ठान्ने नेकपा समाजवादी (एस) का नेता बिरोध खतिवडाको छोरीको धुमधामसँग बिहे भयो । र, यी दुवै विवाहले अहिले सामाजिक सञ्जालदेखि आमसर्वसाधारणबीच निकै चर्चा बटुलेका छन्। देखिएका प्रतिक्रियामा केही मानिसहरू यस्को खुलेरै बचाउ गरेको देखिन्छ भने धेरै जसो आम मानिसको धारणा भने फरक छ।

विवाह सबैले गर्दै आएको कुरा हो र उनीहरूले पनि आफूले ईच्छ्याएको व्यक्तिसँग आफ्ना सन्तानको विवाह गराए त्यो कुनै गलत कर्म होईन। तर आफूलाई साम्यवादी र समाजवादी नेता भनेर जन्तालाई भन्दै हिँड्ने तर उदाहरण चाँहि सामन्तवादीले जस्तो गर्नु अति नै ‘बिर्सनलायक काम’ भएको आम मानिसहरूको बुझाई रहेको छ।

यता, दुईवटा जन्ती बाख्रो काटेर गाँउमै पन्चेबाजा बजाएर खेत-बारीको गह्रामा विवाह गराउँदा सामन्ती संस्कार भनेर कारबाही गर्नसम्म पछि नपरेको प्रचण्ड नेतृत्वको आन्दोलनलाई उनको नातिनीको भड्किलो विवाहले खिसि गरेको भन्नेहरू पनि निकै रहेका छन्। उता, महिनौंसम्म पत्रकारलाई दिनुपर्ने तबल नदिएर मान्छे लगाएर गेटमै पत्रकार धम्क्याएको आरोप खेपेका कान्तिपुर दैनिकका मालिकका  छोरा सम्भव सिरोहिया र पूर्व मिसनेपाल श्रृंखलाको होटल हायातको महंगो र धुमधामको विवाह साथै प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहालकी छोरी प्रतिभा पाठकको गोरखा निवासी तथा विदेशको चर्चित विश्वविद्यालयमा पढेका विज्ञानबाबु रेग्मीको देशकै महंगोमध्ये एक गोकर्ण फरेष्ट रिसोर्टमा लाखौं-लाख खर्च गरेर गरिएको विवाहले चलनचल्तीको नेपाली उखान ‘जो अगुवा उहि बाटोमा ह..वा’ भन्ने भनाईलाई चरितार्थ गरेको आम मान्छेको बुझाई उचित नै देखिन्छ।

नेपालको मौजुदा कानुनले विवाहको जन्ती संख्या दाईजो र विवाहको खर्च आदी ईत्यादीको बारेमा बताएको छ। के ती दुवै विवाह कानुनले तोकीदिएअनुसार भए त? कि शक्तिमा भएकै आधारमा उनीहरूलाई कानुन तोड्ने अधिकार छ? हजारभन्दा बढी संख्यामा पाहुना निम्त्याएर गरिएको खर्चको विवरण के र त्यसको स्रोत के हो त? त्यसको खोजनिति गर्ने अधिकार सर्वसाधारण छ कि छैन? कि विवाह उनीहरूको निजि र पारिवारिक बिषय हो भनेर छुट हुन्छ? कि त उनीहरू शक्ति र सत्तामा छन् भनेर सबै चुप बस्नु पर्ने हो? कि त अरूको बारेमा प्रश्न नगर्ने हामीलाई मात्र किन यस्ता प्रश्न भनेर दाहाल, खतिवडा, सिरोहिया र रेग्मी परिवार उम्कन पाउने हुन्? देशमा कानुन निर्माण देखि कानुनको पालना गराउने निकायमा रहेकाहरूबाटै यस खाले काम कारबाही हुँदै गएपछि आम सर्वसाधारणले अरूबाट के अपेक्षा गर्ने भन्ने प्रश्न सर्वसाधारणको रहेको छ।

यस्तै विवाह, जन्ती र दाईजो  सम्बन्धि कानुन बनाएर त्यसको पालना गराउदै नगराउने र निगरानी पनि नगर्ने निकायसँग पनि आम सर्वसाधारणको असन्तुष्टी र प्रश्न रहेको देख्न सकिन्छ।

हुन त विगतमा पनि यस्ता खाले विवाह समारोह समाजमा हुँदै आएका हुन् तर यसपटक भने गरिबको लागी लडेको भनेका नेताहरूकै सन्तानको विवाहको भड्किलो समारोह देखेर आम जनमानसले बरू त्यसरी गरिने खर्च रूकुम र जाजरकोटका भूकम्पपिडितहरुलाई सहयोग गरेको भए हुने भन्ने धारणा समेत राखेको देखिन्छ। सामाजिक संजालमा त कतिपयले विवाह समारोहमा ल्याईएका बिदेशी फुलको पैसा मात्र बचाएको भए पनि भूकम्पपिडितहरूको केही टहरा बन्ने थिए भन्नेहरू पनि छन्।

चिसोकै कारण ३४ जना सर्वसाधारणको मृत्यु भएको भनेर समाचार छाप्ने कान्तिपुर दैनिकका मालिकले भूकम्पपिडितहरुलाई सहयोग पनि गरेका छन् कि छोराको भड्किलो विवाह मात्र गराएर यसै बसेका छन् भनेर प्रश्न उठाउने हरू पनि छन्। अझ कान्तिपुर दैनिक पत्रिका वितरणका लागि पुसको चिसोमा बिहान ४ बजे उठेर साइकल पेल्नेहरुको पसिना बेचेर श्रृंखलाको गलामा सुनको हार लगाईदिएका सिरोहिया परिवारको नागरिकप्रतिको उत्तरदायित्व के हो भनेर सोध्ने पनि प्रशस्तै भेटिन्छन्। उता चर्चित विश्वविद्यालय हार्वर्ड विश्वविद्यालयमा पढेर आएकी र आफू विशेषत: युवतीहरूको रोल मोडल बन्छु भन्ने ठान्ने श्रृंखला किन आयातित संस्कार हल्दी, मेहन्दी, र भड्किलो ईन्गेजमेन्टसम्मका लागी राजी भईन्  भन्नेहरू पनि छन्। आज महिनावारी हुँदा एउटा सेनेटरी प्याड किनेर लगाउन नसक्दा बिभिन्न खाले यौन रोगको शिकार हुनु परेका आम सर्वसाधारण छोरीहरूले श्रृंखलाबाट कस्तो खाले आशा राख्ने त भनेर प्रश्न गर्नेहरू पनि देखिएको छ।

त्यस्तै समाजमा सहि शिक्षा दिएर समाजको उदाहरण बनेर समाज बदल्ने बाटोमा हिँड्नु पर्ने व्यक्तिहरू र तिनको परिवारबाट भएको यसखाले कामले समाजलाई के खाले शिक्षा होला त? बढ्दो देखासिखि र कु-संस्कार गर्नेहरूलाई यस्ले अझ कुन बाटोमा लैजाला यस विषयमा प्रश्न उठान गर्न सर्वसाधारणलाई हक छ छैन र सम्बन्धितहरूले यस्को उचित जवाफ दिनु पर्ला/नपर्ला? आज भड्काऊवाला समाजलाई सानै भए पनि उदाहरण दिएर युवापुस्तालाई सहि बाटोमा लैजानु पर्ने युवा पुस्ताका प्रतिनिधिहरू श्रृंखला-सम्भव, प्रतिभा-विज्ञानबाट आम युवाले के सिक्ने? जसैपनि आफ्ना अविभावकलाई धन सम्पति थुपार्न लगाएर विलासी जीवन दिलाउन सक्ने बन्नुपर्छ भनेर दवाव दिने कि समाज सुहाउँदो गर्नुपर्छ भन्ने सिकाउने?