

साना प्रहरीका लागि ‘खुशीको बहार’ ल्याउने बसन्त विश्राममा !

काठमाडाैं । प्रहरी महानिरिक्षक (आईजी) बसन्त कुँवरले आज आफ्नो जागिरे जीवनको ३० वर्ष लगाएको ‘बर्दी’ आज बिसाउँदैछन् । प्रहरी निरिक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका कुँवरले संगठनको सर्वोच्च दर्जामा पुगेर सेवाअवधिकै कारण संगठनबाट बिदा हुने तर्खरमा छन् ।
सरुवा–बढुवामा मापदण्डलाई पालना गर्दै सकारात्मक कार्यका साथ कार्यकाल सुरु गरेका कुँवरले साना प्रहरीको अत्याधिक माग रहेको १६ वर्षे पेन्सन अवधि समेट्दै प्रहरी विधेयक संसदसम्म पुर्याउन सफल भएका छन् । जसका कारण नेपाल प्रहरीमा जुनियर भनिएका दर्जाका प्रहरीहरु सबैभन्दा धेरै लाभान्वित हुने देखिएको छ ।
कुँवरकै पालामा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ यतिबेला प्रतिनिधिसभा संसदमा दफावार छलफलका क्रममा रहेको छ । उक्त विधेयकमा जुनियर कर्मचारीहरुको सबैभन्दा धेरै माग रहेको १६ वर्षमा पेन्सन पाउनुपर्ने मागलाई समेट्दै कुँवरले ठूलो जिम्मेवारीका साथ तल्लो तहमा बसेर काम गर्दै आएका प्रहरीको मागलाई सम्बोधन गरेका छन् । यो विधेयक पास हुन्छ हुँदैन, कहिलेदेखि लागू हुन्छ, त्यो फरक कुरा हो, तर संगठनको नेतृत्वले गर्ने भनेको आफूभन्दा माथिल्लो निकायसम्म आफ्ना मातहतका कर्मचारीको कुरा पुर्याउनु हो, उनीहरूको समस्या सुनिदिनु हो र त्यसलाई समाधानका लागि पहल गर्नु हो, त्यो बसन्तले पूरा गरेका छन् ।
यो विधेयक संसदबाट पास भएर नियमावली बनेको खण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनामा जस्तै १६ वर्षमा पेन्सन पाउने नियम लागुहुनेछ, जसले जीवनको उर्वर समय संगठनमा बिताएका कर्मचारीलाई थप जीवनवृत्ति विकासका लागि सहयोग सिद्ध हुने अपेक्षा गरिएको छ ।
लामो समयअवधिसम्म पनि बढुवा नहुने मात्र नभई राज्यबाट नेपाली सेनाभन्दा ‘सौतेलो’ व्यवहार भोग्दै आएको प्रहरीलाई यस विधेयकमा प्रहरी बरिष्ठ हवल्दार दर्जासम्मका प्रहरीले १६ वर्षमै पेन्सन पाउने व्यवस्था गरिएको छ । जसले गर्दा १८ वर्षमा संगठन प्रवेश गरेको एउटा प्रहरीले ३४ वर्षको उमेर पुग्दा पेन्सन लिएर जीवनवृत्ति विकासका लागि पनि प्रशस्त समय पाउने देखिन्छ । यस विधेयकलाई संसदसम्म पुर्याउनका लागि कुँवर नेतृत्वले महत्वपूर्ण भूमिका खेलेकोले यो विधेयक पास भएको खण्डमा बसन्त कालान्तरसम्म तल्ला तहका प्रहरी कर्मचारीको बधाईको पात्र बनिरहने देखिन्छ । लामोसमयदेखि अगाडी बढ्न नसकेको उक्त कार्यले बसन्तकै पालामा अगाडी बढेकाले बसन्तसँग साना तहका प्रहरी कर्मचारीहरू बेखुस पक्कै हुँदैनन् ।
त्यसबाहेक प्रहरी मापदण्डमा आधार लिएर सरुवा र बढुवाका लागि कुँवरका कार्यहरु पनि प्रसंशनीय नै छन् । त्यसबाहेक उनको पदलाई नै धरापमा पार्नेगरी केही तल्ला अधिकृतहरुले अनेक हतकण्डा अपनाए पनि सफल नहुनुलाई कुँवरको कुशल नेतृत्वशक्तिका रुपमा लिन सकिन्छ ।
र, अन्तिममा सबैभन्दा महत्वपूर्ण विषय भनेको कुँवरले आफ्नो उत्तराधिकारी विवादरहित हिसाबले चयन होस् भनेर गरेका कतिपय कार्यहरु प्रसंशनीय नै छन् । शान्त र सौम्य स्वभावका बसन्तको आगामी दिन शुभ रहोस् !