त्रिशूलीको गर्जनमा हराएको युग, बगर बनेका सपना अनि आत्मीयजनहरू
आज भदौ २२ गते। प्रियजन अनि आत्मीय मनहरू हराएको र मैले एक दशकसम्म पाइला टेकेको भूमि खण्डहर बनेको आज १३ दिन भएछ। केही दिनअघि मात्रै हाँसीखुसी छोडेका ती भाइ, साथी र आत्मीय जनहरू भदौ १० गतेको बिहान हुन पाउँदा नपाउँदै सधैँका लागि अस्ताएका छन्। अहिले ती यादहरूले तडपाउँदा र पीडाले छातीभित्र लाङ्टाङ हिमालमा पहिरो खसेझैँ भयानक पहिरो खसिरहेछ। परेलाका डिलहरू त्रिशूली बहुलाएझैँ आँसुको भेलले भिजिरहेका छन्। त्रिशूलीको उजाड बगरमा उभिएर हेर्दा ‘म यही स्थानमा पुगेको थिएँ र?’ भनी आज आफ्नै आँखामाथि विश्वास लाग्न छोडेको छ।
सन् २०१४ अप्रिल १ को त्यो विहानी, जब म पहिलोपटक रसुवाको पावन भूमिमा गोडा टेक्दै थिएँ, त्यसबेला मेरो लागि त्यो केवल एउटा श्रमको गन्तव्य स्थल मात्र थियो। तर, कालान्तरमा यो एक दशकको समय कसरी आँखाको एक निमेषमै बितिगयो, पत्तै भएन। बट्टारको समथर फाँटदेखि सुरु भएर नेपालको इतिहास गुञ्जिरहने त्यो प्राचीन ढुङ्गे अनि त्रिशूलीको पुरानो बजार, धर्म, संस्कृति र राजनीतिक इतिहासको सङ्गमस्थल पवित्र बेत्रावती, नयाँपुलमा उभिँदा छातीमा ठोकिने शीतल हावा, शान्तिबजार, सल्लेटार, अनि गणेश हिमालको काखबाट आउने चिसो सिरेटोले सुसाउने सुन्दर मैलुङ गाउँका कुना-काप्चाहरू! गोगने, तिरू र हाकुका अप्ठ्यारा उकाली-ओराली, त्रिशूली दोभान, पहाडकी सुन्दरीझैँ मुस्कुराउने स्याफ्रुबेँसी, टिमुरे हुँदै चीन र नेपालबीचको सामरिक युद्धको अभेद्य इतिहास बोकेको रसुवागढीसम्मका भीर-पाखाहरू—यी सबै मेरा लागि आफ्नै जन्मठाउँभन्दा बढी आत्मीय र प्यारा बनेका थिए।
त्यहाँका हरेक अनकन्टार भीर, चट्टान, ढुङ्गा-माटो अनि रूख-बिरुवाका पात-पातसँग मेरो रगत, पसिना र सासको गहिरो साइनो गाँसिएको थियो। मैले आफ्नो जन्मघरका मान्छेहरूलाई त उति पहिचान गर्न नसकूँला, तर रसुवाको जन-जन मेरो मुटुको ढुकढुकी बनेका थिए। गढीका साना होटलहरूमा चियाका बाफसँगै साटिएका गफहरू, मैलुङको त्यो रातको बास, बेत्रावतीको माछाको स्वाद, गोरू जुधाई पर्वको त्यो उल्लास, ढुङ्गे-त्रिशूली र बेत्रावतीको लाखे नाच, अनि कार्यक्षेत्रमा दिनभरिको कडा मिहिनेतपछि साँझपख साथीहरूसँग मैलुङ खोला र त्रिशूलीको डिलमा बसेर मारिएका थकाइहरू—यी सबै केवल मेरा स्मृति मात्र थिएनन्, मेरो जीवनका सबैभन्दा जीवन्त र अमूल्य अंशहरू थिए।
नियति पनि कति सारै क्रूर, निष्ठुरी र ढुङ्गे छाती भएको हुँदो रहेछ! त्यो एउटा कालो दिन, अनि आधा घण्टाको त्यो प्रलयकारी बाढी! क्षणभरमै त्रिशूलीको त्यो धमिलो र भीषण भेलले नेपालकै गौरवशाली इतिहास बोकेको ढुङ्गे र त्रिशूली बजार, ऐतिहासिक बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढीजस्ता सांस्कृतिक तथा सामरिक पहिचान बोकेका सभ्यताहरूलाई एकैझट्कामा निलिदियो।
नेपालमा बिजुली बत्तीको चरम अभाव थियो र त्रिशूली नदीको धार प्रयोगविहीन भएर छुराझैँ बगिरहेको थियो। हामी त्यही पानीलाई प्रयोग गरेर देशमा उज्यालो ल्याउन अहोरात्र खटिरहेका थियौँ।
हामीले जलविद्युत् आयोजनालाई केवल सिमेन्ट, गिट्टी र फलामको निरस संरचना मानेनौँ। त्यसलाई त हामीले आफ्नै पसिनाका थोपा-थोपाले सिञ्चित गरेर, रातदिन नभनी एउटा उज्यालो सम्भावनाको स्वप्न-महलका रूपमा निर्माण गरेका थियौँ। अनकन्टार ठाउँमा उज्यालोको खोजी पक्कै सजिलो थिएन। र पनि, दिनभरिको पसिनापछिको थकान बिर्सँदै ‘आउनुस्, चिया-खाजा खाऔँ, मेरो घरमा खाना खाऔँ’ भन्दै प्रेमले अङ्कमाल गर्ने ती आत्मीय सहकर्मी र स्थानीयजनले हाम्रो सङ्घर्षलाई सुख, आनन्द र प्रगतिमा बदलिदिएका थिए। ती तमाम आत्मीय जनहरू जोसँग जीवनका तमाम उकाली-ओराली, दुःख-सुख र हाँसो-आँसु साटियो—उनीहरू मेरो आफ्नै सहोदर दाजुभाइ-दिदीबहिनीहरूभन्दा बढी प्रिय बनेका थिए। २०७२ को महाभूकम्पको त्यो भयानक महाविपत्तिले मान्छेहरूलाई लखेटेर खाल्टेमा जस्ताको पातामुनि ल्याएर पुर्याउँदा, दुःखकै बीच पनि रोजगारी, सुविधा र शिक्षाको सानो आशा बोकेर टोलाएका ती अबोध बालबालिका र परिवारहरूलाई काँध थप्दा लाग्थ्यो—हामी सबै एउटै विशाल परिवारका सदस्य हौँ। कतिसँग स्नेह भयो, कतिसँग कामको सिलसिलामा ठाकठुक पनि पर्यो, तर ती सबै त परिवारभित्रका आत्मीय झगडाहरू मात्र थिए।
तर, नियति पनि कति सारै क्रूर, निष्ठुरी र ढुङ्गे छाती भएको हुँदो रहेछ! त्यो एउटा कालो दिन, अनि आधा घण्टाको त्यो प्रलयकारी बाढी! क्षणभरमै त्रिशूलीको त्यो धमिलो र भीषण भेलले नेपालकै गौरवशाली इतिहास बोकेको ढुङ्गे र त्रिशूली बजार, ऐतिहासिक बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढीजस्ता सांस्कृतिक तथा सामरिक पहिचान बोकेका सभ्यताहरूलाई एकैझट्कामा निलिदियो। नदी किनारमा वर्षौँदेखि उभिएका ती मजबुत इन्जिनियरिङ संरचनाहरू, पक्की पुलहरू र सुरुङमार्गहरू आज यसरी ध्वस्त भए, मानौँ त्यहाँ कहिल्यै केही बनेकै थिएन। यी सबै प्राचीन र आधुनिक धरोहरहरू आज केवल इतिहासका पानामा सीमित भएका छन्; एउटा भयावह मसानघाट जस्तो उजाड, सन्नाटा र खण्डहरमा परिणत भएका छन्। लाग्छ, यो माटोमा आज एउटा सिङ्गो युगको अन्त्य भएको छ।
हाम्रो १० वर्षको अनवरत मिहिनेत, अर्बौँको लगानी र रगत-पसिनाले ठडिएका सिङ्गो आयोजनाहरू र त्यससँगै जोडिएका हजारौँ उज्याला सपनाहरू त्रिशूलीको धमिलो प्रवाहमा कहिल्यै नफर्किने गरी बगेर गए। आयोजना स्थल जहाँ हिजोसम्म मेसिनहरूको घनघोर आवाज र हजारौँ श्रमजीवी मान्छेहरूको चहलपहलले पहाडहरू गुञ्जायमान हुन्थे, आज त्यहाँ केवल मृत्युको चिसो सन्नाटा, नदीको चीत्कार, यत्रतत्र छरिएका शवहरू अनि हराइरहेका आफन्तजनको अतृप्त आत्मा मात्र बाँकी छ।
संरचनाहरू ढल्नु र अर्बौँको क्षति हुनुको पीडा त कुनै न कुनै दिन सहनै सकिन्थ्यो होला, तर हिजोसम्म काँधमा काँध मिलाएर खट्ने सयौँ कामदार र मेरा दर्जनौँ आत्मीय साथीहरूलाई त्रिशूलीको त्यो निसङ्कोच भेलले कहाँ पुर्यायो? मलाई ‘काका’ भनेर बोलाउने मेरो प्यारो लोप्साङ, सचिन अनि आभास कता छन् होला? ‘दाइ, यो मङ्सिर कटाउन्नँ, मेरो बिहेमा धुमधाम नाच्नुपर्छ है’ भन्ने अच्युत कता होलान्? ‘दाइ, सुक्खा रोटी र दूधचिया बनाइराख्नु ल, म १० मिनेटमा खान आउँछु’ भन्ने सुरेश भाइ यति दिन भइसक्दा पनि फर्किएका छैनन्। प्रिय बहिनी तेजस्वी, तिमी रुँदै भनेकी थियौ—’मलाई वर्कप्लेस ह्यारासमेन्ट भयो, कहिलेकाहीँ त छोडिदिऊँ जस्तो लाग्छ।’ किन छोडिनौ त्यही बेला? छोडेको भए आज ती दुई साना-साना बच्चाहरू टुहुरा हुने थिएनन्। सन्तोष, औरष, रोशन, शम्भु, सौभाग्य, जनक गौरव, रामु भाइ… खोइ कता छौ? खोई अरू तमाम साथीभाइ तिमीहरू?
खोइ अब त्यो मैलुङको बसाइ? खोइ गुमचेत, खोइ सल्लेटार अनि खोइ ती १० वर्षसम्मका सम्झनाहरू? ‘भोलि फेरि भेटौँला, हाम्रो सम्बन्ध जुगौँसम्म रहन्छ’ भनेर मुस्कुराउँदै हात मिलाएका ती भाइ-साथीहरू आज कता बिलिन भए? कुन अवस्थामा छन्? उनीहरूले त्यो अन्तिम क्षणमा कति असह्य छटपटी र पीडा भोगे होला? कुन आवाजमा गुहारे होला? सोच्दा पनि छाती चिरिएर आउँछ, शब्दहरू घाँटीमै अड्किन्छन्।
आज पनि आँखाहरू बन्द गर्दा लाग्छ, हराएका ती प्यारा साथीहरू अझै मेरो छेउमै उभिएर उही परिचित र न्यास्रो आवाजमा बोलाइरहेछन्—’हिँड्नुस् चिया खाऔँ!’ जुन कञ्चन मूलबाट अञ्जुली थापेर तिर्खा मेटाइन्थ्यो, जुन शीतलता दिने रूखको छहारीमा बसेर पसिना पुछिन्थ्यो, जुन चौरमा थकाइ मारिन्थ्यो—आज ती सबै ठाउँहरूलाई सोहोरेर त्रिशूलीले केवल एउटा विरक्तलाग्दो मरुभूमि बनाइदिएको छ।
२०७२ को महाभूकम्पको त्यो भयानक महाविपत्तिले मान्छेहरूलाई लखेटेर खाल्टेमा जस्ताको पातामुनि ल्याएर पुर्याउँदा, दुःखकै बीच पनि रोजगारी, सुविधा र शिक्षाको सानो आशा बोकेर टोलाएका ती अबोध बालबालिका र परिवारहरूलाई काँध थप्दा लाग्थ्यो—हामी सबै एउटै विशाल परिवारका सदस्य हौँ। कतिसँग स्नेह भयो, कतिसँग कामको सिलसिलामा ठाकठुक पनि पर्यो, तर ती सबै त परिवारभित्रका आत्मीय झगडाहरू मात्र थिए।
ती आमाहरूलाई सम्झिन्छु, जसका काखहरू रित्तिएका छन्, जो आज पनि ढोकामा आँखा बिछ्याएर आँसुको धारा बगाउँदै बाटो हेरिरहेकी होलिन। ती ससाना अबोध बालबालिकाहरूलाई सम्झिन्छु, जो ‘मेरो बाबा, मेरो आमा आउनुहुन्छ’ भनेर अझै पनि झ्यालबाट बाहिर पर्खिरहेका होलान्। वर्षौँको पसिनाबाट जोडिएको एउटा सुरक्षित बास गुम्यो, सँगै जिउने-मर्ने कसम खाएका सासहरू गुमे। यो पीडा कुनै शब्द वा साहित्यमा पोख्न सकिने पीडै होइन, यो त आत्मामा गडेको एउटा यस्तो खिल हो, जसले सास फेरुञ्जेल दुखाइरहनेछ।
र पनि, आँसुले भिजेका आँखाहरू पुछ्दै यो क्रूर सत्यलाई स्वीकार्नुको अर्को कुनै विकल्प छैन। प्रकृतिले हाम्रा भौतिक संरचनाहरू सोहोरेर लगे पनि, हाम्रा ती आत्मीय साथीहरूले छाडेर गएका अव्यक्त सम्झनाहरू, उनीहरूको निश्चल आत्मीयता र यो रसुवाको माटोप्रतिको अगाध मायालाई त्रिशूलीको कुनै पनि प्रलयकारी भेलले बगाउन सक्दैन। गुमेका ती तमाम सहकर्मीहरूप्रति परेला भिजाउँदै अश्रूपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। र हराएका ति तमाम साथीहरू भेटियोस् भनि कामना गर्दछु।
शोकको यो अनन्त अँध्यारोमा डुबेका परिवारजनलाई दैवले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस्।
बाढीले बस्ती र विशाल संरचनाहरू ढाले पनि हाम्रो आत्मबल र जिउने अदम्य साहसलाई ढाल्न सकेको छैन। ती तमाम सङ्गीहरूको सपना हामीभित्रै जिउँदै र साथैमा छन्।
आजको यो महाविपत्तिमा एक-अर्काको आँसु पुछ्दै, पीडामा मलहम बन्दै, दीर्घकालीन योजनाका साथ यस्ता विध्वंसबाट जोगिने बाटो खोज्दै ति तमाम साथीहरूको सपनालाई साक्षी राखेर फेरि नयाँ आशाका साथ पुन: उठ्नु नै उनीहरूप्रतिको सच्चा सम्मान र जीवनको असली अर्थ हुनेछ।
पुनः श्रद्धापूर्वक सम्मान आत्मीय जनहरू, अनन्त यात्रा सहज बनोस्। अश्रूपूर्ण श्रद्धासुमन! सम्पर्कबिहिनहरू टुप्लुक्क आई पुगुन् भन्ने मनोकाङ्क्षा ।
