नवलपुरका चर्चित नेता कार्कीले पाए केन्द्रीय सदस्यको ‘टिकट’

नवलपुर । नेपाली कांग्रेसका नवलपुरका चर्चित नेता विष्णुकुमार कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ । भर्खरैदेखि सुरु भएको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्यानलबाट कार्कीले  केन्द्रीय सदस्य (खस आर्यतर्फ) पक्का भएको स्रोतले जनाएको छ ।

समाजसेवी र सहयोगीको रुपमा पूर्वी नवलपुर जिल्लामा चर्चित रहेका कार्कीले जिल्लाको विकासका साथै पार्टीको संगठन विस्तारमा मुख्य भूमिका खेल्दै आएका छन् । जिल्लाबाट अत्याधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित कार्की यसअघिको संसदीय निर्वाचनमा नवलपुर क्षेत्र नं. २ मा झिनो मतान्तरले पराजित भएका थिए ।

निर्वाचनमा पराजयका बाबजुद पनि कार्कीको नियमित जस्तो स्थानीयको समस्यासँग साक्षात्कार हुने बानीले गर्दा नवलपुर क्षेत्र नं. २ बाट कार्की पुनः उम्मेदवार बन्ने निश्चितप्रायः नै छ ।

जिल्लामा चर्चित रहेका कार्कीले अब केन्द्रीयस्तरमा पनि प्रतिनिधित्व गर्ने भएसँगै नवलपुर कांग्रेसका कार्यकर्ताहरु उत्साहित समेत बनेको नवलपुरको बौंदीकालीबाट क्षेत्रीय प्रतिनिधिसमेत रहेका एक नेताले बताए । उनले भने, ‘उहाँ जत्तिको नेताले टिकट पाउनु नौलो कुरा होइन, कार्यकर्ताको हितको लागि उहाँ जत्तिको सहयोगी, खुल्ला स्वभावका नेतालाई जिताउनु महाधिवेशन प्रतिनिधिहरुको कर्तव्य पनि हुन आउँछ ।’

प्राकृतिक विपत्ति तथा समस्यामा परेका स्थानीयको सहयोगका लागि जहिले अग्रसर भूमिका निर्वाह गर्ने कार्कीले पछिल्लो समय जिल्लाभित्र मात्र नभई देशभरका विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

कांग्रेस सभापति देउवा निकट कार्कीको जित नवलपूरका लागि अपरिहार्य छ । सुगम जिल्ला भईकन विकासमा पछि परेको नवलपुरको आशाका केन्द्रसमेत रहेका कार्कीले कांग्रेस सभापतिसँगको निकटताका कारण विकास कार्यमा समेत योगदान पुर्याउनसक्नेमा कुनै द्विविधा नभएको एक महाधिवेशन प्रतिनिधिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *